प्रकाण्डको नेतृत्वमा विप्लव समूहले गठन गर्‍यो वार्ता टोली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले सरकारसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेसँगै विप्लव समूहले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीमा प्रवक्ता प्रकाण्ड सहित दीपक चलाउने रहेका पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । सरकारसँग वार्ताका लागि विप्लव समूहले केही दिनअघि नै टोली गठन गरेको जनाइएको छ ।

सरकारले यसअघि आजै गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । वार्ता सफल भए सरकारले आजै विप्लव समूहमाथि प्रतिबन्ध पनि फुकुवा गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?