२०७७, १८ फाल्गुन मंगलवार ११:०४

अब क्यान्सरको उपचारका लागि विदेश धाउनुपर्दैन : दुर्गा प्रसाईं

किन पत्ता लाग्न सकेको छैन क्यान्सरको औषधि ?


प्रकाशित मिति : २०७७, १८ फाल्गुन मंगलवार ११:०४

काठमाडौं । विकसित देशमा क्यान्सर लागेमा लगभग ७० प्रतिशत बिरामी बाँच्ने तथ्यांक छ भने नेपालजस्तो विकासोन्मुख देशमा बाँच्नेको सङ्ख्या ठीक उल्टो रहेको देखिन्छ । गरिब राष्ट्रहरुमा हुने मृत्युको मुख्य कारणमध्ये एक हो – क्यान्सर ।

अविकसित र विकासोन्मुख देशहरुमा क्यान्सरको जोखिम बढ्दो छ । नेपालमा हरेक वर्ष करिब २५ देखि ३० हजारको हाराहारीमा क्यान्सरका बिरामीहरु अस्पतालसम्म पुग्ने गरेको तथ्यांकले पनि देखाउँछ ।

विश्व स्वास्थ्य संगठनको ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर’को तथ्याङ्कअनुसार सन् २०१८ मा नेपालमा क्यान्सरबाट तीन हजार ६ सय ६५ जनाको मृत्यु भयो ।

यहाँ क्यान्सरको अवस्था जति डरलाग्दो छ त्यसको उपचार प्रक्रिया उत्तिकै जटिल । एकातिर पैसावाला र पहुँचवालाहरु देशविदेशका दक्ष, अनुभवी डाक्टर कहाँ पुगेर मृत्युको मुखबाट समेत फर्किन्छन् भने अर्कातिर गरिब, निमुखाहरुले भएको घरजग्गा समेत बेचेर सडकमा ओर्लनुपर्ने अवस्था आउँछ ।

नेपालमै रहेको नेसनल क्यान्सर रजिष्ट्रीले हरेक वर्ष नेपालका करिब १ दर्जन अस्पतालबाट क्यान्सर रोगीहरुको तथ्याङ्क संकलन गर्छ । सोको तथ्याङ्क अनुसार नेपालमा करिब १० हजारको हाराहारीमा क्यान्सरका बिरामी दर्ता हुने गर्छन् । दर्ता नभएको सङ्ख्या समेत जोड्ने हो भने करिब २० देखि ३० हजार हुनसक्ने अनुमान छ ।

स्वदेशमा अपर्याप्त अस्पताल र गुणस्तरीय उपचारको अभावले क्यान्सरबाट संक्रमित भएपछि विदेश नै जानुपर्ने बाध्यात्मक परिस्थितिको सामाना गर्नुपरेको छ – नेपालीहरुले ।

यसैबीच झापाको बिर्तामोडमा खुलेको ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ले त्यस परिस्थितिलाई केही हदसम्म भएपनि सहजीकरण गरिदिने कुरामा ढुक्क छन् अस्पतालका कार्यकारी निर्देशक – दुर्गा प्रसाईं ।

झापाको बिएण्डसी अस्पताल परिसरमा स्थापना गरिएको क्यान्सर उपचार सेवा निजी लगानीबाट बनेको नेपालको सबैभन्दा ठूलो अस्पताल रहेको प्रसाईंको दाबी छ । उनका अनुसार ६ सय करोडको लगानीमा निर्मित अस्पतालमा अहिलेसम्म नेपालका कुनै क्यान्सर अस्पतालमा नभएका उपकरणहरु उपलब्ध छन् । ‘अब क्यान्सरको उपचारका लागि विदेश नै धाउनुपर्छ भन्ने छैन,’ उनले लोकपथसँग भने ।

‘मुस्कुराउँछ नयाँ जीवन’ भन्ने नाराका साथ गत वर्षदेखि सञ्चालनमा आएको अस्पतालको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलवार) गर्नेछन् ।

३ सय शैयाको उक्त अस्पतालमा फोर डि पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, न्युरो नेभिगेसन सिष्टम, क्याथ ल्याब, डेक्सा स्क्यान लगायत सेवासुविधा उपलब्ध रहेको अस्पतालका सूचना अधिकारी प्रमेश गिरी बताउँछन् ।

पेट सिटी सेवालाई मेडिकल जगतमा ‘आई अफ अन्कोलोजी’ भनिन्छ किनकी यसले क्यान्सरको पहिचान गर्ने काम गर्दछ । काठमाडौं बाहिरका कुनै पनि अस्पतालमा अहिलेसम्म यो सेवा उपलब्ध नभएको गिरीको भनाइ छ । अस्पतालमा भएका उपकरणहरुको खरिदमै १ अर्ब भन्दा बढी खर्च भइसकेको उनले बताए । ‘अब क्यान्सरको उपचारका लागि भारत वा अन्य देश धाइरहनु पर्दैन,’ अस्पतालले पूर्वाञ्चल क्षेत्रलाई मात्र नभएर सारा देशवासीलाई नै फाइदा पु¥याउने बताउँदै गिरी भन्छन्, ‘विदेशी स्तरको स्वास्थ्य सेवा तथा उपचार प्रदान गरिनेछ ।’

क्यान्सरको इतिहास
इजिप्टमा भएका मानव अवशेषहरुमा पाइएको ट्युमर नै क्यान्सरको सबैभन्दा पुरानो प्रमाण भएको बताइन्छ । इजिप्टका ऐतिहासिक हस्तलिपिहरुमा पनि यस बारेमा उल्लेख गरिएको छ । क्यान्सर भन्ने नाम नै प्रयोग नगरिएपनि प्राचीन इजिप्सियन पाठ्यक्रमहरुमा ८ प्रकारका ट्युमरका बारेमा लेखिएको पाइएको छ । सो पुस्तकहरुमा एड्विन स्मिथ प्यापिरसको नामले व्याख्या गरिएको यस रोगलाई पहिलो पटक ‘क्यान्सर’ नाम दिने व्यक्ति हिपोक्रेट्स हुन् जसलाई ‘फादर अफ मेडिसिन’ भनेर पनि चिनिन्छ । हिपोक्रेट्सले अल्सर गराउने र नगराउने दुई किसिमका ट्युमरलाई कार्सिनोस र कार्सिनोमा नाम दिएका थिए । ग्रिक भाषामा क्यान्सरको अर्थ हो, गंगटा । गंगटाको हातखुट्टाजस्तै आकार लिएर फैलिने भएकाले यस रोगलाई क्यान्सर नाम दिइएको थियो ।

किन पत्ता लाग्न सकेको छैन क्यान्सरको औषधि ?
मानिसलाई संसारकै पहिलो एटम बम बनाउन ३ वर्ष मात्र लागेको थियो तर, एउटा रोगको औषधि पत्ता लगाउन यतिका समय लाग्नु स्वभाविक हो ? अनुसन्धानकर्ता तथा चिकित्सकहरु यसो भन्छन्ः

क्यान्सर नाम एक, स्वरुप अनेक
क्यान्सर उतिनै प्रकारको हुन्छ जति यसबाट संक्रमित मानिसहरु छन्, भन्छिन् डा.जोएस ओहम । उदाहरण दिँदै उनी भन्छिन्, मानौं जुम्ल्याहा दिदीबहिनीलाई ब्रेस्ट क्यान्सर छ, उनीहरुको डिएनए पनि उस्तै हुन्छ र उस्तै जिनेटिक म्युटेसन भएर जन्मिएका हुन्छन् । तर, एकजनाको शरीरले उपचारलाई सकरात्मक ढङ्गले प्रतिक्रिया दिइरहेको हुन्छ भने अर्कोकोले हुँदैन । यस्तो अवस्थामा एकजना बाँच्छन् र अर्को मर्न पनि सक्छन् । भलै ती दिदीबहिनी एउटै डीएनएको साथ जन्मिएका थिए तर, जीवनकालमा उनीहरुमा फरक फरक वातावरणीय कारकहरुको प्रभाव परेको हुन सक्छ जस्तै कीटनाशक औषधि, भाइरल संक्रमण, धुम्रपान, अस्वास्थ्यकर खाद्य पदार्थ वा पीडादायी अनुभवहरू(जसले सामान्य जीनलाई चालू वा बन्द गर्न सक्दछ) । यही कारणले उनीहरुमा क्यान्सरको जोखिम कम वा बढी भएको हुन सक्छ ।

डिएनएमा आउने परिवर्तनले मानव शरीरमा क्यान्सरका कोषिकाहरु उत्पन्न गर्दछ । सोही परिवर्तनका कारण ती कोषिकाहरु तीव्र गतिमा असामान्य ढङ्गले बढ्दै जान्छन् । यो परिवर्तन त्यो बिन्दूसम्म पुग्छ जहाँ सबै कोषहरु एकअर्का भन्दा फरक हुन पुग्छन् ।
यसो हुँदा ट्युमरको डिएनए स्वयम संक्रमित व्यक्तिको डिएनएसँग समेत मिल्दैन । अन्य संक्रमित व्यक्तिको डिएनएसँग मिल्ने त झन् कुरै भएन ।

एउटै ट्युमरमा फरक कोषहरु
यस्तो अवस्था प्राय पाठेघरको क्यान्सर, ब्रेस्ट क्यान्सर लगायतका क्यान्सरहरुमा देखापर्ने गरेको छ । एउटै ट्युमरमा फरक कोष हुँदा कुनै थेरापी वा उपचारले एक किसिमको कोषमा काम गर्छ भने त्यही ट्युमरको अर्को कोषमा नगर्न सक्छ । जसकारण ती कोषहरु फेरि बढ्दै जाने र नयाँ टयुमर पलाउने सम्भावना बढी हुन्छ ।
डा.ओहम भन्छिन्, ९९ प्रतिशत कोषमा काम गरेतापनि बाँकी एक प्रतिशत कोषहरु फेरि उस्तै ट्युमर जन्माउन सक्षम हुन्छन् ।

क्यान्सरका कोषहरु समयसँगै परिवर्तन हुन्छन्
कहिलेकाहीँ प्रभावकारी सावित भइरहेको औषधि वा उपचारविधिले एक्कासी काम नगर्न सक्छ । क्यान्सरका कोषहरुले समयसँगै त्यस विधिसँग प्रतिरोध गर्दै बाँच्न सिक्ने भएकाले त्यसो हुन्छ ।
डाक्टरको सल्लाह अनुसार कहिलेकाहीँ एउटा उपचार विधिबाट अर्कोमा जान पनि सकिने ओहम बताउँछिन् ।
यसको अर्थ क्यान्सरको उपचार पत्ता लगाउन असम्भव नै हो त ?
यस विषयमा डा.ओहम भन्छिन्, उपचार पत्ता लागिसकेको छैन तर, प्रगति हुँदैछ ।
उनका अनुसार विगतको तुलनामा धेरै नयाँ थेरापी र उपचार विधिहरु अभ्यासमा आएका छन् जुन सफल पनि भएका छन् ।
केही वर्ष अघिसम्म उपचार गर्नै नसकिने क्यान्सरका केसहरुलाई अहिले निको समेत पार्न सक्नुले पनि यो प्रमाणित गरेको ओहमको भनाइ छ ।
यद्यपि, पूर्णरुपमा निको भएतापनि क्यान्सरका केही कोषहरु बिरामीको शरीरमा रहिरहने बताउँछन् चिकित्सक । जसको अर्थ हो, सो व्यक्तिमा फेरि क्यान्सर बल्झिने सम्भावना हुन्छ जुन उपचार भएको ५ वर्षभित्रमा भइसक्ने चिकित्सकहरुको भनाइ छ । कहिलेकाहीँ ५ वर्षपछि पनि नआउला भन्न सकिन्न ।

क्यान्सरका केही उपचार विधिहरु तल उल्लेख गरिएको छः
इम्युनोथेरापी(प्रतिरोधात्मक विधि)
खोप
टि सेल थेरापी
मोनोक्लोनल एन्टीबडी
इम्युन चेकप्वाइन्ट इन्हिबिटर्स
जीन थेरापी
भाइरो थेरापी
हार्मोन थेरापी
नानो पार्टिकल्स

क्यान्सरसँग सम्बन्धित केही भ्रम र यथार्थः
चन्द्रमामा पुग्न सक्ने हामीले अहिलेसम्म क्यान्सरको औषधि पत्ता लगाइसक्नुपर्थ्यो
क्यान्सरको औषधि पत्ता लगाउनु अन्तरिक्षको अध्ययन भन्दा जटिल भएको छ । क्यान्सरको प्रकृति मान्छे अनुसार फरक हुने र समय अनुसार क्यान्सर लागेका कोषिकाहरुमा पनि परिवर्तन आइरहने भएकाले चिकित्सकले कुनै एक पद्दति जानेर वा अपनाएर क्यान्सर निको पार्न सम्भव नै हुँदैन ।

नियमित चेकजाँच र आधुनिक प्रविधिले सबै क्यान्सर पहिलो चरणमै पत्ता लाग्छ।

नियमित चेकजाँचले शुरुवाती चरणमै क्यान्सर पत्ता लाग्न सहज हुने भएतापनि यसको ग्यारेन्टी हुँदैन ।

क्यान्सर पीडादायी हुन्छ
कुनैकुनै क्यान्सरले पीडा दिँदैनन् । सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो ।
अन्तिम चरणमै पगेको क्यान्सर छ भने पनि चिकित्सकहरुको प्राथमिकता बिरामीको दैनिक जीवनमा आँच नआओस् भनेर कम्तीमा दुखाइ कम गर्ने हुन्छ ।

शल्यक्रिया गर्दा क्यान्सर झन् फैलिन्छ

शल्यक्रियाले झनै क्यान्सर बढाउँछ भनेर अहिलेसम्म कुनै प्रमाण छैन । यही अफवाहको आधारमा शल्यक्रिया नगरेर क्यान्सरलाई झन् बढ्ने मौका दिनुहुन्न ।

शल्यक्रिया गर्नुअघि भन्दा गरेपछि निको हुने प्रक्रियामा झनै पीडा हुने भएकाले यस्तो गलत बझाइ रहन गएको हुनसक्छ ।

एकै खालको क्यान्सर हुनेहरु उस्तै उपचार पद्धतिबाट निको हुन्छन् भलै एकै प्रकारको क्यान्सर होस् तर, उपचार प्रक्रिया भने मानिसको शरीर, खानपान, आनीबानी, रहनसहन आदि अनुसार भिन्नभिन्नै हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस