धादिङमा जिउँदै महिलालाई खाडलमा पुरेर डोजर चालक फरार

लोकपथ
0
Shares

काठमाडौं । धादिङमा डोजरको ठक्करबाट घाइते भएकी एक महिलालाई डोजर चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा डोजरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।

डोजरको ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।

काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘डोजरले मान्छे पुर्‍यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए । त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । त्यसपछि मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए ।

डोजरको ठक्करबाट महिलाको मृत्यु भएपछि डोजरमा आगजनी गरेका छन् ।

‘शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । टाउकोमा ठूलो घाउ र रगत पनि देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताए ।

‘शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएका छौँ ।’ उनले भने ।

‘घटनापछि चालक बुढाथोकी फरार छन् । उनको खोजी कार्य भइरहेको छ’। एसपी खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?