“नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ”- प्रचण्ड

RSS
0
Shares

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको वैधानिकता र चिन्ह आफूहरुले पाउने दाबी गरेका छन् ।

उनले भने, “त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी छ ।” नेकपा निकट पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणासभालाई आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “कोही भ्रममा पर्नुपर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ ।”

निर्वाचन आयोगको सेटिङ भत्किँदै गएको दाबी गर्दै उनले आयोगले केही दिनमै बहुमतले गरेको निर्णयलाई आधिकारिकता दिने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले भने, “अब छिट्टै नयाँ सरकार बन्छ र त्यस सरकारले लोकतान्त्रिक व्यवस्था अनुसारको सुशासन दिनेछ ।”

उनले पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीको निर्णयलाई नमान्ने र आफू सर्वेसर्वा भएको घमण्ड गर्दै ओलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई लत्याएको आरोप लगाए । उनले पार्टीभन्दा बाहिर रहेका नेता तथा कार्यकर्तालाई मूल पार्टीमा फर्कन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?