बेपत्ता सम्झनाको घर नजिकै मुखमा बोराले छोपिएको अवस्थामा शव फेला, सम्झनाकै हुनसक्ने !

लोकपथ
0
Shares

काठमाडौं । गुल्मीको भागडाउँमा एक युवतीको शव फेला परेको छ । रेसुङ्गा नगरपालिका–३ भागडाउँमा युवतीको शव मुखमा बोराले छोपिएको अवस्थामा फेला परेको हो ।

स्थानीय लालबहादुर विक घर छेउ तिर घाँस काट्न जाँदा केहि गन्ध आएपछि हेर्न जाँदा युवतीको शव देखेर गाँउलेलाई खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय, गुल्मीमा उनीहरुले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले लोकपथलाई जानकारी दिए ।

‘स्थानीय विक घाँस काट्न जाँदा कुहिएको जस्तो गन्हाएपछि हेर्दा शव देख्नु भएछ र तुरुन्तै हामीलाई खबर गर्नुभयो । त्यसपछि टोली घटनास्थलतर्फ मुभ भएको हो ।’ सूचना अधिकारी पाण्डेले भने ।

मुखमा बोराले छोपिएको, शरीर स्याउलाले ढाकेको र ढुङ्गाले च्यापेको विभत्स अवस्थामा भेटिएको शव केहि दिन अघि नै मृत भइसकेको प्रहरीको प्रारम्भीक अनुमान छ । ‘शव सडेको अवस्थामा शरीरमा पानी भरीएको फुलेको, गन्हाएको’ पाण्डेको भनाइ छ ।

गत माघ २९ गते रातीदेखि स्थानीय २१ वर्षीया युवती सम्झना बोहोरा बेपत्ता छिन् । उनको घर नजिकै फेला परेको शव सम्झनाको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरीका अनुसार फेला परेको शव नचिनिने अवस्थामा छ । उनले थपे, तर आफन्तलाई खबर गरिसकेका छौँ ।

सम्झनाको आफन्त घटनास्थलमा अझै नपुगेकाले शवको पहिचान हुन नसकेको पाण्डेले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?