२०७७, १७ फाल्गुन सोमवार १३:१७

प्रविन बाँस्तोला हत्या प्रकरण : घरधनी रमेश गिरी पक्राउ, ३ जना अझै फरार


प्रकाशित मिति : २०७७, १७ फाल्गुन सोमवार १३:१७

काठमाडौं । मोरङ जिल्लाको उर्लाबारीका प्रविन बाँस्तोला हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । हत्या भएको रात प्रविन सुतेका घरधनी रमेश गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेका थिए ।

उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतवार पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले लोकपथलाई बताए ।

त्यस्तै जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको एसपी खड्काले जानकारी दिए ।

‘हत्यामा संलग्नमध्ये ३ जना फरार छन् । उनीहरु उपर पक्राउ पुर्जी जारी भइसकेको छ । हामी थप अनुसन्धान गरिरहेका छौँ ।’ उनले बताए ।

गत पुस ४ गते मदिराको नशामा साथीहरूसँगै सुतेका प्रविन बिहान अचेत अवस्थामा भेटिएपछि उनलाई अस्पताल लगिएको थियो । मोरङकै गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस