भागरथी हत्या प्रकरण : आरोपितको तेस्रोपटक म्याद थप, डिएनए काठमाडौं पठाइयो

लोकपथ
0
Shares

धनगढी/टेकसिँह धामी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको हत्या प्रकरणका आरोपित किशोरको तेस्रोपटक म्याद थप गरिएको छ । शुक्रवार बैतडी जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो  ।

जिल्लाका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको बताए । आरोपित नाबालक भएकाले २१ दिनभन्दा बढी प्रहरी हिरासतमा राख्न नपाउने प्रावधान भएकाले त्यसभित्रै सबै अनुसन्धान सक्ने गरी काम भइरहेको छ । केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको मृतकको भजाइनल स्वाब, मुखको स्वाब र योनिबाट निस्केको रगतको परीक्षण रिपोर्ट अझैसम्म नआएको प्रहरीले जनाएको छ । रिपोर्ट आएसँगै मिसिलमा प्रमाण थपिने डीएसपी अधिकारीले बताए ।

दोगडाकेदार–३ स्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथी माघ २१ गते विद्यालय गएकी थिइन् । दिउँसो २ बजे विद्यालयबाट घर जान हिँडेकी उनको भोलिपल्ट खोचलेक—चडेपानी ग्रामीण सडकबाट ३० मिटर तल वनमाराको झाडीमा शव फेला परेको थियो । प्रहरीले सोही विद्यालयमै कक्षा ११ मा पढ्ने उनकै १६ वर्षीय छिमेकी भाइलाई घटनाको मुख्य आरोपीका रूपमा प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आरोपितले भागरथीको बलात्कारपछि हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

डिएनए परिक्षणका लागि काठमाडौं पठाईयो : 

भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ। डिएनए परीक्षणका लागि रगतलगायतका आवश्यक वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो ।

डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ। यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको थियो। तर, परीक्षण रिपोर्ट भने आएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?