डा.भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, चाँडै शल्यक्रिया गर्न सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको उपचारमा संलग्न चिकित्सकको निष्कर्ष रहेको छ ।

भट्टराईका प्रेस सल्लाहकार एवम् समाजवादी पार्टी नेपालको प्रचार विभाग उपप्रमुखविश्वदीप पाण्डेका अनुसार बायोप्सी, डोटा नोक परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पेट सिटी स्क्यानसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको हो ।

देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुईरतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ । यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज सोमवार भएको परामर्शमा सचेत गराएको पाण्डेले जनाएका छन् ।

अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो । उनले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए । भट्टराई भोलि (मंगलवार) स्वदेश फर्कन सक्ने पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?