७६ वर्षीय यादवलाई साढे दश वर्ष जेल सजाँय, ५६ वर्ष अघिदेखि फरार

काठमाडौँ– सप्तरीको साबिक पकरी–१ घर भई हाल महादेवा गाउँपालिका–१ का ७६ वर्षीय श्रीलाल यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

५६ वर्षअघि तत्कालीन इलाका अदालत हनुमाननगर सप्तरीबाट डाँका र जालसाज मुद्दामा सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । यादवमाथि डाका मुद्दामा १० वर्ष र जालसाज मुद्दामा ६ महिना कैद सजाय तोकिएको थियो ।

स्थानीय सुरैतलाल यादवको जाहेरी तात्कालीन सरकार वादी रहेको मुद्दामा तत्कालीन इलाका अदालत हनुमाननगरले २०२३ भदौ ३ मा यादवलाई कैद फैसला गरेको थियो । यस्तै सुरैतलालकै जाहेरीले अर्को जालसाज मुद्दामा २०२१ जेठ १९ मा यादवलाई ६ महिना कैद सजाय तोकेको थियो ।

गत शुक्रबार गाउँबाटै पक्राउ गरिएका उनलाई आइतबार अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ । उनी ५६ वर्षदेखि फरार सूचीमा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?