बादी समुदायमाथि प्रहरीको लाठीचार्ज

काठमाडौँ– कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसेका बादी समुदायमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

एकसाता देखि आन्दोलनमा उत्रेका आन्दोलनकारीहरू माग पूरा गराउन नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि झडपको स्थिति सिर्जना भएको हो । बादी संघर्ष समितिका संयोजक हिक्मत बादी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेको आरोप लगाएका छन् । प्रहरीको लाठी प्रहारबाट हिक्मत वादी, जानकी वादी, गगन वादी, करण वादी र मानकुमारी वादी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने प्रहरीले लाठी प्रहार नगरेको बताएको छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको र थप आन्दोलन थप चर्काउँदै लैजाने उनीहरूले बताएका छन् ।

शनिबारसम्म शान्तिपूर्ण रूपमा धर्नामा बसेका वादी समुदायले आइतबार नाराजुलुससहित आन्दोलन गरेका थिए। घरसहितको खेतीयोग्य जमिन माग गर्दै सात दिनदेखि दैलेख, कालिकोट र सुर्खेतका ४०० बढी वादी समुदायका मानिस कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?