हठ नछाडे प्रधानमन्त्री ओलीको दर्दनाक अन्त हुने नेता भट्टराईको चेतावनी

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले हठ नछाडे उनको राजनीतिक भविष्यको दर्दनाक अन्त हुने चेतावनी दिएका छन् । दाहाल–नेपाल निकट प्रेस संगठनको २ नम्बर प्रदेशस्तरीय भेलालाई आज आइतवार जनकपुरमा सम्बोधन गर्दै भट्टराईले ओलीलाई हठ नगरी पद त्याग्न आग्रह गरेका हुन् ।

संविधानमाथि गम्भीर आक्रमण गर्ने प्रधानमन्त्री ओलीको पक्षमा उभिएर प्रतिनिधिसभाका सदस्यहरुले आफ्नै मृत्यु पत्रमा हस्ताक्षर नगर्ने दाबी गर्दै भट्टराईले सन्की प्रधानमन्त्रीलाई तह लगाउन नसके प्रतिनिधिसभाले मृत्यु पत्रमा हस्ताक्षर गर्ने बताए ।

“प्रतिनिधिसभाका सदस्यहरुले आफ्नो मृत्यु पत्रमा आफैँ हस्ताक्षर गर्ने छैनन्,” उनले भने, “संविधानमाथि गलत हस्तक्षेप गरी प्रतिगमनमा लैजाने काम भएको थियो। तीन करोड नेपालीको भाग्य र भविष्यमाथि खेलबाड गर्दै सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई तह लगाउन सकेन भने प्रतिनिधिसभाले मृत्यु पत्रमा हस्ताक्षर गर्छ।”

ओलीले राजीनामा गरेर पार्टी एकताका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै नेता भट्टराईले हठ नछाडे व्यक्तिगत रुपमा पनि ओलीका निम्ति दर्दनाक र वियोगान्तको इतिहास हुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?