काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका तीन वटा यात्रुबाहक बस एक आपसमा ठोक्किएका छन् । गल्छी गाउँपालिका वडा नम्बर-७ स्थित खेस्टे खोलामा तीन वटा यात्रुबाहक बस ठक्कर खाँदा १२ जना यात्रु घाइते भएका छन् भने घाइतेमध्ये दुईको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी युवराज खड्काले लोकपथलाई बताए ।
अवस्था गम्भिर रहेका दुई घाइतेलाई काठमाडौं रिफर गरिएको डीएसपी खड्काले बताए ।
धादिङ बेशीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८९०४ नम्बरको बसलाई सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४४९१ नम्बरको बसले उछिन्ने क्रममा काठमाडौंबाट गोर्खा जाँदै गरेको ना ५ ख ५०७० नम्बरको यात्रुबाहक बससँग ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनापछि केही बेर राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरी र स्थानीय बासीको सहयोगमा स्थानीय वर्कसपबाट क्रेन झिकाएर सवारी आवागमन सुचारु गराइएको गजुरी प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया