भिडियोको केही अंश मात्रै काटेर गलत मनशायले ‘भाइरल’ बनाइयो : रघुजी पन्त

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीको विषयमा दिएको विवादास्पद अभिव्यक्तिको बचाउ गरेका छन् ।

सार्वजनिक कार्यक्रममा नेता पन्तले २० औं वर्षदेखि पार्टीमा योगदान दिएका नेतृहरुले राष्ट्रियसभा र केन्द्रमा अवसर नपाएको तर वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेर सांसद भएको अभिव्यक्ति दिएका थिए । “२० औं वर्षदेखि पार्टीमा लागेका महिलाहरू पनि ओलीतिर लागेका छन् । तिनले त टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन्”, पन्तले भनेका थिए, “कोमल वलीले यसो साडी सरक्स सर्क्याएर गोरा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् ।”

अहिले उनको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ । चौतर्फी आलोचना भएपछि उनले आफ्नो आशय त्यस्तो नभएकाृे प्रतिक्रिया दिएका छन् । आफूले बोलेको पूरा भिडियो नराखी, केही अंश मात्रै काटेर गलत मनशायले ‘भाइरल’ बनाइएको उनले जिकिर गरेका छन् ।

“मैले बोलेको पूरै भिडियो राखिएको छैन । भिडियो पूरै नराखी, केही अंश मात्रै काटेर गलत मनशायले ‘भाइरल’ बनाइएको छ,” लोकपथसँग उनले भने,”व्यक्तिगत रूपमा मैले कसैलाई लक्षित गरेर भनेको होइन । मेरो भनाइले कोमल वलीलाई चोट पुगेको छ भने त्यसप्रति म दुःख व्यक्त गर्छु।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?