बोनस घोषणा गर्ने बित्तिकै रोकियो सांग्रिलाको कारोबार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनश र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक  र बैंकको आगामि साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउनेछन्।

यता लाभांश घोषणा गर्ने बित्तिकै नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । बैंकले लाभांश प्रस्ताव सम्बन्धि सूचना बजार खुल्नु अघि नै नपठाउदा उसको शेयर कारोबार रोक्का भएको छ। कारोबार रोक्का गर्दै नेप्सेले बैंकलाई ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन समेत दिएको छ ।

धितोपत्र विनियमावली २०७५ अनुसार सेयर मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अगावै नेप्सेलाई जानकारी गराउनुपर्नेमा बैंकले त्यसो नगर्दा कारबाहीमा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?