नेता महतोको प्रश्न -आफ्नो अधिकार मागेका थारु नेतालाई जेल हुँदा १७ हजारको ज्यान लिनेलाई के ?

धनगढी । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र महतोले थारुहरुलाई भोट बैंकका रुपमा मात्र प्रयोग गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा जारी थरुहट युवा दस्ताहरुको सम्मेलनको उद्घाटन गर्दै नेता महतोले जेलमा रहेका थरुहटका नेता रेशम चौधरी र लक्ष्मण थारु लगायतले न्याय नपाएको भन्दै ध्यानकर्षण गराएका छन् ।

१७ हजार नेपालीको नरसंहार गराउने प्रचण्डलाई कुनै सजाय नहुने तर आफ्नो हक–अधिकारका लागि आन्दोलन गरेका सांसद चौधरी र थारुलाई आजीवन जेल सजाय भएकोप्रति महतोले आपत्ती जनाएका छन् । “आफ्नो हक अधिकार माग्दाँ जेल जानु पर्नै देश नेपाल हो । १७ हजार नेपाली जनता नरसंहार गराउने पुष्पकमल दाहाल प्रचण्डलाई जेल नजानु पर्ने तर आफ्नो हकअधिकारका लागि आन्दोलन गरे बापत साँसद रेशम चौधरी र लक्ष्मण थारुलाई आजीवन सजाय दिने यो कस्तो देश हो ?” उनले प्रश्न गरे ।

राणा शासनदेखि गणतन्त्रसम्म आउँदा थारु जनजाति आदिवासी सहितका जातजातिहरुको अधिकारको मागलाई भोट बैंकका रुपमा प्रयोग गर्ने र सत्तामा पुगेपछि भुल्ने प्रवृत्तिको उनले आलोचना गरे । अमेरीका र भारत जस्ता मुलुकमा एउटै संविधानमा सबैको अधिकार समावेश भएको तर नेपालमा सात ओटा संविधान बन्दा समेत मधेशी, थारु, लिम्बु, किराँती लगायतको अधिकार सुनिश्चित नभएको भन्दै उनले खेद प्रकट गरे ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?