मिक्वाखोला गाउँपालिकामा अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालनमा

RSS
0
Shares

फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अध्यक्ष आकस्मिक उपचार कोष सञ्चालनमा ल्याएको छ । अध्यक्ष आकस्मिक उपचार कोषमार्फत गाउँपालिकाभित्रका नागरिकलाई सरकारले निःशुल्क गरेबाहेक घातक रोग उपचारका लागि बढीमा ५० हजारसम्म सहयोग गरिने भएको छ ।

गाउँपालिकाले अध्यक्ष आकस्मिक उपचार कोष कार्यान्वयन विनियम जारी गर्दै मान्यता प्राप्त स्वास्थ्य संस्थाको प्रमाणित बिल र रोगको प्रकृतिका आधारमा भुक्तानी दिने व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद गुरुङले बताए ।

गाउँपालिकाले बढीमा २० लाखसम्मको अध्यक्ष आकस्मिक उपचार कोष खडा गर्ने भएको हो । उपचार कोषको रकम एक आर्थिक वर्षमा खर्च नभए आफ्नो क्षेत्रभित्रको भौतिक संरचना पुनःनिर्माण तथा मर्मतका लागि खर्च गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रत्येक आवमा अध्यक्ष आकस्मिक उपचार कोषका लागि गाउँपालिकाले कम्तीमा २० लाखसम्मको रकम विनियोजन गर्नुपर्ने विनियममा उल्लेख गरिएको छ । स्थानीय सरकारका तर्फबाट गाउँपालिकाभित्रका नागरिकका लागि यो ठूलो सहयोगका रूपमा रहने प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?