प्रचण्डको अभिव्यक्तिको चौतर्फी आलोचना, आखिर के भनेका थिए ?

लोकपथ
0
Shares

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । प्रचण्डले आफू नेतृत्वको नेकपासहित कांग्रेस र जसपाको सरकार बने भारतलाई समेत ‘कम्फर्टेबल’ हुने एक अन्तरवार्ताका क्रममा बताए पछि उनको विरोध शुरु भएको हो ।

शुक्रवार रातिको एक टेलिभिजन कार्यक्रममा उनको यस्तो अघिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको हो । उनलाई अधिकांश टिपपणीकर्ताले जनताको पक्षमा भन्दापनि भारतको पक्षमा सोच्ने काम भएको भन्दै चर्को आलोचना गरेका हुन् ।

प्रचण्डले के भनेका थिए ? जस्ताको तस्तैः

‘यहाँ कोही कसैका विरुद्ध षड्यन्त्र होइन यो, ती शक्ति मिल्दा नै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने भयो र इतिहासले जसलाई अगाडि बढ भनेको हो तिनै अघि बढ्नुपर्यो । त्यसो भएर मेरो भनाइ नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिलेर जाँदा देशको राजनीति चेक एण्ड ब्यालेन्स पनि हुन्छ, सन्तुलनमा पनि बस्छ ।

सबै छिमेकीहरुसँगको सम्बन्ध राम्रो भएर पनि जान्छ । भारतसँग पनि चीनसँग पनि राम्रो सन्तुलन हुन्छ । अझ भारतसँगको हाम्रो जुन विशिष्ट सम्बन्ध छ, इतिहास, भूगोल, संस्कृति, धर्म–परम्परा, अर्थतन्त्र, पानीढलो, खुला सीमाना सबै कारणले भारतसँग राम्रो समझदारी नबनाइकन पनि नेपालमा स्थायित्व विकास त हुँदैन । त्यसरी हेर्दा म के देख्छु भने नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतको निम्ति पनि कम्फर्टेबल समीकरण हो । चीनको लागि पनि यो कम्फर्टेबल नै हुन्छ । यति राम्रो सम्भावना अहिले छ, यो सम्भावनामा जानुपर्यो भनेर मैले भनेको छु । फेरि आत्मसमीक्षासहित भनेको छु, यो नै सबैको हितमा छ भन्ने मेरो भनाइ हो ।

हिजो गणतन्त्रको आन्दोलन गर्दा असम्भव कुरा हो भन्ने केपी ओली, हिजो माओवादीलाई पनि शान्ति प्रक्रियामा ल्याउने सकारात्मक वातावरण बनाउनुपर्छ भनेर बामदेव गौतम र युवराज ज्ञवाली रोल्पा जानु भयो– म र बाबुराम थियौं अब हामी मिलेर जाने भनियो । त्यो भन्नेलाई कारबाही गर्नुपर्छ भन्ने केपी ओली, समानुपातिक समावेशी हुनुहुँदैन भन्ने केपी ओली, हिजो गणतन्त्रको आन्दोलनको नेता त माधव कुमार नेपाल हो नि । हामी सबै सँगै छौं, नेपाली काँग्रेसको नेता गिरीजाप्रसाद कोइरालाले हिजो साहस गरेर पहल नलिएको भए शान्ति सम्झौता हुन गाह्रो थियो । सात दलको नेताको हैसियतले उहाँले भूमिका खेल्नु भयो । शान्ति सम्झौतामा दुई नेताले हस्ताक्षर गरियो । त्यो सबै शक्ति त हामी एकै ठाउँमा छौँ नि ! यी शक्ति मिल्नुपर्यो भन्या हो ।’

भारतसँग नेपालको सम्बन्धलाई सुमधुर बनाउनु पर्छ । आपसी विस्वासको धरातलमा उठाउनुपर्छ भन्ने मान्यतामा, ५/७ वर्षदेखि लगातार छु । भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा विकास, समृद्धि र स्थायित्वमा चुनौति हुन्छ भन्ने कन्भिक्सनका साथ भनेको छु।

यो बीचमा जति मेरो भारतमा भ्रमण हुँदा, नेताहरुसँग भेट्दा मैले त्यही कुरा भनेको छु । कताकता प्रचण्डले भन्याजस्तो गर्न सकेन भन्ने कुरा पनि परेको हुनसक्छ । तर मेरो भनाइ के छ भने मैले कुनै अर्को मनसायले गरेको छैन । मैले कतिबेला के गर्न सकेँ, कतिबेला गर्न सकिनँ त्यो हाम्रो आन्तरिक मामिला हो । हाम्रो पार्टीको आन्तरिक मामिला पनि हो । मैले कसैलाई अविश्वास पैदा होस् भनेर गरेको छैन । भारतप्रति नकारात्मक सोच राखेर मैले केही पनि गरेको छैन । मैले छिमेकीहरुसँग राम्रो सम्बन्ध हुनुपर्छ, भारतसँग पनि चीनसँग पनि भनेको छु, तर भारतसँगको सम्बन्ध विशिष्ट छ ।

हाम्रो इतिहासले, भुगोलले, संस्कृतिले परम्पराले, धर्मले, अर्थतन्त्रले, पानीढलाले भारतसँगको सम्बन्धलाई राम्रो बनाउनुपर्छ भन्ने डिक्टेक्ट गरेकै छ । तर भारतले म जस्तो मान्छेलाई जसले शान्ति र लोकतन्त्रको निम्ति यत्रो योगदान गर्यो अविश्वास हुन्छ भन्ने लाग्दैन ।
नेपालमा मलाई बेलाबेला मान्छेहरुले बेस्सरी गाली गर्छन् तर अन्तिममा नेता त उही हो भन्छन् । भारतीय जनताले पनि मलाई माया गर्छन् । भारतभरि नै प्रचण्ड राम्ररी जनताको तहमै चिनिन्छ, त्यहाँको मिडिया, बुद्धिजिवि र आमजनताले पनि प्रचण्डलाई सबभन्दा बढी चिन्छन् र माया गर्छन् । किनभने शान्ति ल्यायो ।

अब प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा भाषण गर्दा ‘युद्धबाट बुद्धतिर’ ‘युद्धबाट शान्तितिर’ तपाईँहरुले ठूलो काम गर्नुभयो भनेर जो भाषण गर्नुभयो मैले बुझेको छु, उहाँले त्यो मलाई नै भन्नु भएको हो । मेरो बारेमा र नेपालको बारेमा उहाँले संयुक्त राष्ट्रसंघको अधिवेशनमा बोल्नुभयो–नेपालको शान्ति विश्वकै लागि एउटा उदाहरण हो भन्ने स्प्रिटमा बोल्नुभयो । लालकिल्लाबाट पनि उहाँले हाम्रो बारेमा बोल्नुभयो भने उहाँले मलाई कसरी अविस्वास गर्न सक्नुुहुन्छ ? म कल्पना पनि गर्न सक्दिनँ ।

एउटा, असल मित्र र छिमेकीको रुपमा कहिँकतै अलीअली बादल र तुँवालो लागेको छ भने पनि क्षणभरमै त्यो तुँवाँलो फाटिन्छ, बादल हट्छ उज्यालो हुन्छ । हामी एकअर्कामा भारतीय, कन्सर्न, चासो चिन्तालाई हामीले सकेसम्म छिमेकीको हैसियतले सम्बोधन गर्ने र हाम्रो चिन्ता र चासोलाई पनि भारतले सकेसम्म सम्बोधन गर्ने र यो सम्बन्ध फेरि विकसित हुन्छ भन्ने म विश्वास गर्छु ।’

प्रचण्डको अभिव्यक्तिको  चौतर्फी आलोचना : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?