कैलाली/टेकसिँह धामी । धनगढीमा आज शनिवारदेखि सञ्चालन हुने चण्डिका गु्रप लिटल फ्लावर प्रिमियर लिग पाँचौं संस्करणको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसले पत्रकार सम्मेलनमा विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।
धनगढीको संघीय प्रहरी एकाइ कार्यालय खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहनेछ । जसमा काठमाडौँ र कञ्चनपुरका समान २–२, रुपन्देही र दाङका १–१ र कैलालीका १० विद्यालयको सहभागिता रहनेछ ।
पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भइसकेको जनाएको छ । प्रतियोगिता लिग कम नक आउटका आधारमा हुने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा आज शनिवार आयोजक लिटल फ्लावर र कैलालीको विद्या भूषण आमने–सामने हुनेछन् ।
देशभरबाट सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडौँको हिमालयन ह्याइट हाउस, धनगढीको शारदा विद्या निकेतन, काठमाडौँको नेक्सस इन्टरनेसनल एकेडेमी र कञ्चनपुरको लिटल बुद्ध एकेडेमी रहेका छन् ।
त्यस्तै समूह ‘बी’ मा धनगढीका लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुल, शारदा मावि र त्रिनगर मावि छन् भने कैलालीको विद्या भूषण पब्लिक स्कुल पनि यसै समूहमा छ । समूह ‘सी’मा धनगढीको स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, कञ्चनपुरको शारदा सरस्वती मावि, धनगढीकै नमुना मावि र कैलालीको होल्यान्ड इङ्ग्लिस बोर्डिङ स्कुल रहेका छन् । समूह ‘डी’ मा कैलालीको नव बालबाटिका विद्या मन्दिर, रुपन्देहीको न्यू एकेडेमी बोर्डिङ स्कुल, दाङको रोजी बर्ड्स बालबाटिका सेकेन्डरी बोर्डिङ स्कुल र कैलालीको गुरुकुल इङ्लिस मिडियम स्कुल रहेका छन् ।
लिग चरणमा प्रत्येक टिमले ३/३ खेल खेल्ने प्रतियोगिताका व्यवस्थापक ज्ञानेन्द्र दडिमाना क्षेत्रीले जानकारी दिए । समूहका शीर्ष स्थानमा रहने ४ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
फागुन १५ गतेबाट शुरु भएर फागुन २७ गते लिग चरणका खेल सम्पन्न भएपछि २८ गते समूह ‘ए’ को विजेता र समूह ‘सी’ को विजेता पहिलो सेमिफाइनल तथा समूह ‘बी’को विजेता र समूह ‘डी’को विजेता दोस्रो सेमिफाइनलमा खेल्ने छन् । फागुन २९ गते प्रतियोगिताको फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५÷५ हजार प्रदान गरिनेछ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया