ओलीलाई मात्रै गाली गरेर हुन्न, हामीले पनि आत्मसमीक्षा गर्नुपर्छ- प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्था आउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै गल्ति नभएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनसँग कुराकानी गर्दै उनले आफूहरूले पनि आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन् ।

यस्तै उनले ओलीसँग एकता हुन नसक्ने बताएका छन्।  ‘केही मान्छेलाई बोलाउँदै अब प्रचण्डलाई ध्वस्तै पार्दै भन्दै हुनुहुन्छ। संघीय व्यवस्था निमिट्यान्न पार्न नसकेपछि प्रचण्डलाई ध्वस्तै पार्छु भन्दै हुनुहुन्छ। उहाँसँग कसरी पार्टी एकता हुन सक्छ?,’ प्रचण्डले भने।

प्रचण्डले पार्टी आधिकारिकताको विवाद केही दिनभित्रै टुंगिने विश्वास व्यक्त गरेका छन् । उनले आफूहरुको पक्षमा बहुमत रहेको भन्दै अब निर्वाचन आयोगले केपी ओलीलाई अर्को पार्टी खोलेर जान भन्न सक्ने बताए । ‘केपी ओलीले पार्टी विभाजन गरिसक्नुभयो । हामीले पार्टी हित विपरित गतिविधि गरेकाले उनलाई पार्टीबाट निष्कासित गरिसक्यौँ । हाम्रो पक्षमा दुई तिहाइ रहेको निर्वाचन आयोगलाई पनि जानकारी गराइसक्यौं । अब अर्को पार्टी खोलेर जाउ भन्न सक्छ निर्वाचन आयोगले’, प्रचण्डको भनाइ छ ।

‘जबरजस्ती गर भनेर हामी भन्दैनौ तर हामीसँग दुई तिहाइ छ । फेरि यताउती गर्ने कुराले राम्रो गर्दैन । सर्वोच्चले जसरी नजिर खडा गर्यो, आयोगले पनि संविधान र कानुनअनुसार गर्छ भन्ने विश्वास सँगै आयोगसामु आमरुपमा विश्वास दिलाउने अवसर पनि हो’, प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?