के हो मुद्रा प्रदाय ? जानी राखौँ

काठमाडौं । कुनै अर्थतन्त्रमा निश्चित समयबिन्दूमा उपलब्ध मुद्राको कार्य गर्न सक्ने सम्पूर्ण तरल सम्पत्तिको योगफललाई नै मुद्रा प्रदाय-मनी सप्लाई) भनिन्छ ।

यस अन्तर्गत मुख्यतः सर्वसाधारणसँग भएको नगद र बैंक तथा वित्तीय संस्थामा कायम रहेको निक्षेप रहेको हुन्छ । त्यसकारण मुद्रा प्रदाय भन्नाले सर्वसाधारणसँग भएको नगद र बैंक तथा वित्तीय संस्थामा कायम भएको निक्षेपको कूल योगफल हो । मुद्रा आपूर्ति गणना गर्दा बैंक तथा वित्तीय संस्थामा रहेको कस्तो निक्षेप समावेश गर्ने भन्ने आधारमा मुद्रा प्रदायलाई दुई भागमा विभाजन गरिएको हुन्छ ।

१) संकुचित मुद्रा प्रदाय (न्यारो मनी सप्लाई)

संकुचित मुद्रा प्रदाय अन्तर्गत सर्वसाधारणसँग भएको नगद र बैंक तथा वित्तीय संस्थामा कायम रहेको चल्ती निक्षेप पर्दछन् । चल्ती निक्षेपमा रहेको रकम सजिलैसँग नगदमा परिणत गर्न सकिने भएकाले मुद्रा आपूर्तिको यो परिभाषालाई सबैभन्दा तरल परिभाषा भनिन्छ । त्यसकारण संकुचित मुद्रा प्रदाय भन्नाले सर्वसाधारणसँग भएको नगद र बैंक तथा वित्तीय संस्थामा कायम भएको चल्ती निक्षेप हो ।

२) विस्तृत मुद्रा प्रदाय(ब्रोड मनी सप्लाई)

विस्तृत मुद्रा प्रदाय अन्तर्गत सर्वसाधारणसँग भएको नगद, बैंक तथा वित्तीय संस्थामा कायम रहेको चल्ती निक्षेप, वचत निक्षेप, मुद्दति निक्षेप तथा कूल निक्षेप पर्दछन् । मुद्दति निक्षेपमा रहेको रकम सजिलैसँग नगदमा परिणत गर्न नसकिने भएकाले मुद्रा आपूर्तिको यो परिभाषालाई कम तरल परिभाषा भनिन्छ । त्यसकारण विस्तृत मुद्रा प्रदाय भन्नाले सर्वसाधारणसँग भएको नगद, बैंक तथा वित्तीय संस्थामा कायम रहेको चल्ती निक्षेप, बैंक तथा वित्तीय संस्थामा कायम रहेको आवधिक निक्षेपको कूल योग हो । नेपालमा आवधिक निक्षेप भित्र बैंक तथा वित्तीय संस्थामा कायम भएको बचत निक्षेप, मुद्दति निक्षेप र कूल निक्षेप समावेश गरिएको हुन्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को छ महिनामा विस्तृत मुद्रा प्रदाय ९.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दूगत यस अवधिमा विस्तृत मुद्रा प्रदाय २३.0 प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस अवधिमा सञ्चित मुद्रा ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ५.६ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दूगत आधारमा सञ्चित मुद्रा २७.६ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?