पार्टीको आधिकारिक धारणा सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुखबाट बुझौं : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा आधिकारिक ठाँउबाटै बुझ्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै प्रवक्ता श्रेष्ठले पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार सञ्चार माध्यमको आधारमा नभई नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझ्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला पछि संसदको अधिवेशन ,सरकार ,संविधान कार्यान्वयन, समृद्धि ,समाजवादको आधार निर्माण जस्ता गम्भीर छलफलको संवेदनशील मोडमा भएको उल्लेख गर्दै उनले सञ्चारमाध्यमका दृष्टिकोण ,धारणा र अधिकारबारे केही भन्न उचित नहुने बताएका छन् ।

सञ्चार माध्यमका आ–आफ्ना विश्लेषणलाई यथोचित सम्मान गर्दै त्यसका सकारात्मक सन्देश ग्रहण गर्न प्रवक्ता श्रेष्ठले आग्रह गरेका छन् ।

“सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला पछि अहिले हामी संसदको अधिवेशन ,सरकार ,संविधानको कार्यान्वयन, समृध्दि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलन लाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौं,”उनले लेखेका छन्, “सञ्चार माध्यमका आ-आफ्ना बिश्लेषणलाई यथोचित सम्मान गरौं ।त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौं । हामी उहाँहरुको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौ र उचित पनि हुँदैन ।तर पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?