अब आइपीओ रिजल्ट मिडियाबाट हेर्न नपाइने, महिला लघुवित्तको आज आउने नतिजा कसरी हेर्ने ?

काठमाडौं । महिला लघुवित्तको साधारण शेयर आईपीओ आज शुक्रवार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेण्ट बैंकिङ्गले आज बिहान ८ बजे आईपीओ बाँडफाँड गर्न लागेको हो ।
क्यापिटलका अनुसार लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलवार नै भइसकेको छ ।

लघुवित्तको आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७२ गुणा बढी हुन आउँछ ।
मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् ।

तर यो पटकदेखि लगानीकर्ताले अनलाइन मिडियाबाट आईपीओ परे नपरेको रिजल्ट भने हेर्न नपाउने भएका छन् । यसअघि विभिन्न सञ्चार माध्यमको वेबसाइटमा पनि आईपीओको रिजल्ट हेर्न पाइन्थ्यो । यसरी धेरै स्थानबाट रिजल्ट हेर्न पाउने व्यवस्थाले लगानीकर्ताको व्यक्तिगत विवरण बाहिरिएको भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेडले रोक लगाएको हो ।

यो व्यवस्थासँगै लगानीकर्ताले अब आइपीओ रिजल्ट आइपीओ निष्कासन गर्ने सम्बद्ध कम्पनीको वेवसाइट, सीडीएसको मेरो सेयर एप र बिक्री प्रबन्धकको वेबसाइटबाट मात्र हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?