भारतले इंग्ल्यान्डलाई १० विकेटले हरायो

काठमाडौँ– घरेलु टोली भारत १० विकेटले इंग्ल्यान्डविरुद्ध जित हासिल गरेको छ । यो सँगै चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ ।

जितका लागि सामान्य ४९ रनको लक्ष्य भारतले ७.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतका ओपनर रोहित शर्मा २५ बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे । सुभमन गिल २१ बलमा १ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । पहिलो दिन १३ विकेट पतन हुँदा दोस्रो दिन १७ विकेट गुमेको थियो । भारतले दोस्रो दिनमै सहज जित हात पार्दै टेष्ट च्याम्पियनसिफको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अन्तिम खेलको नतिजाले निर्धारण गर्ने छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्ड दोस्रो सेसनमा नै १ सय १२ रनमा अलआउट भएको थियो । तेस्रो ओभरमा नै ओपनर डोम सिब्लेको साथ गुमाएको थियो । करिअरको सयौं टेस्ट खेलिरहेका इशान्त शर्माको बलमा सिब्ले खाता नखोली क्याचआउट भए । छैटौं ओभरमा जोनी बेयरस्टो पनि खाता नखोली पेभेलियन फर्केपछि इंग्ल्यान्ड समस्यामा परेको थियो । अक्षर पटेलले उनलाई एलबीडब्लु धरापमा पारेका थिए । तेस्रो विकेटका लागि ओपनर ज्याक क्रली र कप्तान जो रुटले ४७ रनको साझेदारी गरे । कप्तान रुट १७ रन जोड्दै रविचन्द्रन आश्विनको बलमा एलबीडब्लु भए । त्यसको तीन ओभरपछि अर्धशतक बनाएका क्रली अक्षर पटेलको बलमा आउट भए । उनले ८४ बलको सामना गर्दै १० चौकाको मदतले ५३ रन जोडे ।

त्यसपछि भरतका स्पिनरले लगातार विकेट खसाले । ओली पोप १ रन, बेन स्टोक्स ६ रन तथा जोफ्रा आर्चर ११ रनमा आउट भए । जाक लिच ३, स्टुआर्ट ब्रोड ३ तथा बेन फोक्स १२ रनमै पेभेलियन फर्किए । भारतका स्पिनर अक्षर पटेलले ६, रवि आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?