ब्यूटी पार्लर जाँदै हुनुहुन्छ ? सावधान ! भित्रिन सक्छन् रोग, यसरी बचौं

काठमाडौं । के तपाई पार्लर जाँदै हुनुहुन्छ ? पक्कैपनि भित्री सुन्दरतालाई निखार्न मान्छे जति समय र मिहिनेत खर्चिन्छ बाहिरी सुन्दरतालाई तिखार्न पनि उति नै । आकर्षक देखिनु भनेको आफ्नो व्यक्तित्व र आत्मविश्वासलाई ‘बुस्ट’ गर्नु पनि हो । त्यसैले पहिरन, जुत्ताचप्पल, गरगहनाका साथसाथै आकर्षक ‘मेक अप’ गर्नमा पनि महिलाहरु उत्तिकै लालायित भएको देख्न सकिन्छ ।

फेरि समयसँगै श्रंगारको परिभाषा पनि त बदलिएको छ । आँखामा गाजल र ओंठमा लाली लाउनुलाई मात्र श्रंगार भनिँदैन आजभोलि ।
त्यसैले विवाह होस् या पार्टी, चाडपर्व होस् या सभा समारोह आजकल ब्यूटी पार्लर गएर श्रंगार गर्ने चलन बढेको छ । व्यवसायिक ‘मेक अप’ गर्ने ट्रेण्ड भित्रिएको छ ।

तर, बाहिरी सुन्दरतालाई महत्व दिने क्रममा हामीले ब्यूटी पार्लर जाने हुँदा आफ्नो स्वास्थ्यलाई त जोखिममा पारेका छैनौं ?
फेरि कोभिड १९ को महामारी पनि त अहिलेसम्म पूर्णरुपमा उन्मूलन भइसकेको छैन । यस्तो अवस्थामा ब्यूटी पार्लर जाँदा संक्रमणको जोखिम पनि उत्तिकै छ ।

ब्यूटी पार्लरबाट कसरी विभिन्न रोगहरु भित्रिन्छन् भनेर लोकपथले विभिन्न सौन्दर्यकर्मीसँग कुराकानी गरेर केही जोखिम र तीबाट बच्ने उपायहरु जम्मा पारेको छ ।

जोखिम

कपाल काट्ने कैंची, काइँयो वा जुनसुकै धारिलो हतियारबाट रोगको संक्रमण हुनसक्छ

तौलिया, रुमाल, बस्ने/सुत्ने ठाउँमा ओछ्याइएका कपडा आदिबाट पनि संक्रमणको जोखिम रहन्छ

मेनिक्योर, पेडिक्योर गर्ने सामाग्रीबाट

फेसियल, क्लिन्जिङ लगायत उपाय अपनाउँदा एउटै सामाग्री र भाँडाको प्रयोग गर्दा

यदि पार्लर जानैपर्ने छ भने के कस्ता उपाय अपनाएर जाने त ?

ब्यूटी पार्लर जानुअघि त्यहाँ के कस्तो स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाइएको छ भनेर बुझेर मात्रै जाने

अर्काले प्रयोग गरेको कैंची, काइँयो जस्ता सामाग्री प्रयोग गर्दा सफा गरिएको छ कि छैन भनेर राम्ररी चेकजाँच गर्ने

सकेसम्म तौलिया, रुमाल जस्ता पुनःप्रयोग गर्न मिल्ने सामानको प्रयोग नगर्ने बरु टिस्यूको प्रयोग गर्ने

पार्लरमा प्रयोग गरिने केमिकल, भाँडा, उपकरणहरुलाई राम्ररी सफा गरेपछि मात्रै प्रयोगमा ल्याउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?