खोलामा गाडिएको शव झिकेर पोस्टमार्टमका लागि पठायो प्रहरीले, आमा छोरीले लगाएका थिए पासो !

काठमाडौं । सोच्नुहोस् त ! तमाम अभाव र अप्ठेरोको बाबजुत हरेक आमाले आफ्नो सन्तानलाई कति माया गर्छिन् ? आमाको यहि मायालाई संसारको सबैभन्दा प्रिय र अतुलनिय सम्बन्धका रुपमा समेत हेरिन्छ ।

तर कहिलेकाहिँ कुनै आमाले विभिन्न परिबन्धमा परेर गराउने घटनाक्रम जब पर्दाफास हुन्छ एकपटक सोध्न मन लाग्छ यो समाज किन यति निर्दयी बन्दैछ ? किन आमाको माया समेत बदलीदैछ ? हो, रुपन्देहीमा एउटा यस्तै अप्रिय घटना भएको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर-३ मा २१ वर्षीया प्रेमा यादवले आफ्नो एक वर्षीया छोरीको हत्या गरेकी छिन् । छोरीको हत्यापछि आफूले पनि पासो लगाई आत्महत्या गर्ने प्रयास गर्दा उनलाई छिमेकीले देखि बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक डीएसपी सत्यनारायण जोशीले लोकपथलाई बताए ।

कसरी भयो यस्तो घटना ? भएको के हो ? 

घटनाकी मुख्य पात्र  :२१ वर्षीया प्रेमा यादव

प्रेमा यादवको श्रीमान् :राजकुमार यादव

प्रेमा यादवको पूर्व प्रेमी  : प्रदिप चौधरी

प्रेमा यादवको राजकुमार यादवसँग विवाह हुनुअघि प्रेमा प्रदिप चौधरीसँग प्रेममा थिईन् । तर परिवारले प्रेमाको विवाह राजकुमार यादवसँग गराइदिए । विवाह हुँदा उनको पेटमा प्रदिपको बच्चा हुर्किरहेको कसैलाई पत्तो भएन ।

प्रेमाले परिवारसँग प्रदिपबारे बताइन् तर परिवारले उनको विवाह राजकुमार यादवसँग गराइदियो । विवाहपछि प्रेमा यादव गर्भवति भइन् । तर राजकुमार यो कुराले खुशि थिएनन् । किनभने उनले भेउ पाएका थिए, आफ्नै श्रीमतीको पेटमा हुर्किरहेको बच्चा आफ्नो होइन भनेर ।

त्यसपछि बढ्न थाल्यो विवाद…

प्रेमाको पेटमा हुर्किरहेको अर्को पुरुषको बच्चा स्वयम् प्रेमाप्रति श्रीमान् र परिवारले घृणाको नजरले हेरे । गाली गरे । परिवारमा कलह उत्पन्न भयो । दिनहुँ झैझगडा हुन थाल्यो ।

विवाहको ७ महिनामै प्रेमाले छोरीलाई जन्म दिईन् । घरमा बच्चा जन्मीएपछि विवादले उग्र रुप लिन थाल्यो । त्यसपछि प्रेमाले मृत्युको बाटो रोज्ने योजना बनाईन् ।

छोरी र आफू सँगै मर्ने योजनामुताविक घरमा कोही नभएको बेला प्रेमाले घरभित्रै एउटै डोरीले एकापट्टि आफू र अर्कापट्टि छोरीलाई पासो लगाइन्।

घरभित्रबाट चिच्याएको आवाज आएपछि छिमेकीहरु सशंकित भए । उनीहरु के बित्यास भयो भन्दै हेर्न जाँदा प्रेमा पासोमा छट्पटाउँदै झुण्डीरहेको अवस्थामा थिईन् भने छोरीको प्राण गइसकेको थियो । छिमेकीहरुले हत्तपत्त पासो काटीदिएका कारण प्रेमाको ज्यान जानबाट रोकियो ।

घटनाक्रम यतिमै सिमीत भएन…

प्रेमाका ससुरा सासु र श्रीमानले मृत्यु भएकी छोरीको शव हत्तपत्त खोलामा लगेर गाडे । लगत्तै प्रहरी घटनास्थल पुग्यो । प्रेमाका ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान् राजकुमार यादव र पूर्व प्रेमी प्रदिप चौधरीलाई नियन्त्रणमा लियो ।

आइतवार राति एक बालिकाको शंकास्पद मृत्यु भएको र आफन्तले खोलामा शव गाडेको भन्ने खबर पाए लगत्तै प्रहरी सो क्षेत्रमा गएको थियो । दानव खोला नजिक शंकास्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव गाडेको अवस्थामा भेटिएको डीएसपी जोशीले बताए ।

घाँटीमा शंकास्पद दाग देखिएपछि शव पोष्टमार्टमको लागि भैरहवास्थित भिम अस्पताल पठाइएको छ। अन्य विवरण अनुसन्धानपछि खुल्नेछ । प्रहरी अधिकारी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?