उद्योग परिसंघको ‘मेक इन नेपाल’ अभियान शुरु, यस्तो छ ‘प्लान’

लोकपथ
0
Shares

काठमाडौँ – नेपाल उद्योग परिसंघले ‘हाम्रो सामान हाम्रै अभियान’ भन्ने मुल नाराका साथ ‘मेक इन नेपाल’ अभियान शुरु गरेको छ ।

स्वदेशी वस्तु तथा सेवा प्रवर्द्धन गर्ने र स्वदेशमै रोजगारी सृजना गरी युवा पलायन रोक्न परिसंघले यस्तो अभियान शुरु गरेको हो ।

परिसंघले हरेक वर्ष एक हजार उद्योग सञ्चालन गरी डेढ लाख रोजगारी दिने लक्ष्य राखेको छ । परिसंघले सरकारले समेत आफूहरुलाई साथ दिने दाबी गरेको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वदेशी उत्पादन वृद्धि गर्न र व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन यो अभियान शुरु गरेको हो ।

यस अभियानले मुलुकको औद्योगिक विस्तार र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउने दाबी अध्यक्ष मोरको थियो ।

‘मुलुकको उद्योग व्यवसाय ‘कोभिड – १९’ को कारण प्रतिकूल अवस्थामा भएकाले सरकार र निजी क्षेत्र दुवैले महामारीबाट रोजगारी र व्यवसाय बचाउन प्रयास गरिरहेका छौँ ।’ अध्यक्ष मोरले भने ।

यस्तो प्रतिकुल अवस्थामा स्वदेशी उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न र बचाइराख्न तथा आम नागरिकको रोजगारी गुमिरहेका अवस्थामा नयाँ रोजगारी सृजना गर्न पनि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।

परिसंघका प्रमुख आर्थिक सल्लाकार डा. विश्व पौडेलले व्यवसायमैत्री वातावरण हुनुपर्नेमा जोड दिएका छन् ।

उनले आत्मनिर्भर हुन सक्ने उद्योगहरुको उत्पादनलाई प्रोत्साहन गर्न सके मात्रै अभियान सफल हुने दाबी गरे ।

पाँच वर्षको अवधिमा ‘डुइङ बिजनेस इन्डेक्स’ ३० औँ स्थानमाथि उक्लने लक्ष्य राखेको भन्दै नेपाली वस्तु तथा सेवा उपभोग गर्न सरकारले समेत सहयोग गर्नुपर्नेमा पौडेलको जोड थियो ।

परिसंघका उपाध्यक्ष अनुज अग्रवालले नेपाली वस्तु तथा सेवालाई प्राथमिकता दिने गरी अभियान सुरु गरेको बताए । उनले स्वदेशी वस्तु तथा सेवा विश्वस्तरीय रहेको समेत बताए । ‘नेपाली उत्पादनको गुणस्तरमा कुनै कमी छैन। मात्रै उपभोक्ताको सोचमा परिवर्तन चाहिन्छ ।’ उपाध्यक्ष अग्रवालले भने । त्यस्तै,वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन अभियान सुरु गरेको बताए ।

यस्तो छ मेक इन नेपालको अभियान : 
यस अभियानले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सन् २०२५ सम्ममा २२ प्रतिशत योगदान दिने गरी लक्ष्य राखेको छ । मुलुकको पछिल्लो राजनीतिक गतिरोध हेर्ने हो भने परिसंघको लक्ष्यलाई पक्कै पनि अवरोध त गर्ने नै छ । यस अभियानले आगामी पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु-याउने लक्ष्य राखेको छ । यो अभियानले २०३० सम्ममा २६ प्रतिशत योगदान पु-याउने परिसंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?