अढाइ दशकपछि औद्योगिक क्षेत्रको शिलान्यासले जगाएको आशा

RSS
0
Shares

कञ्चनपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सोमवार कञ्चनपुरको बेदकोट नगरपालिकामा सुदूरपश्चिम प्रदेशमै पहिलोपटक दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासी उत्साहका साथ कार्यक्रमस्थलमा भरिएका थिए ।

लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाको आश्वासन सुन्दै आएका स्थानीयवासीमा स्थानीय सरकार आइसकेपछिको गतिविधिले औद्योगिक क्षेत्र स्थापना हुनेमा आशावादी रहेका बेला सोमवार शिलान्यास नै हुँदा खुशीले गद्गद् भएका छन् ।

आर्थिकरुपले विपन्न र मुक्त कमैयाको बसोबास रहेको औद्योगिक क्षेत्र विस्तार क्षेत्रमा उद्योगहरु सञ्चालनमा आएमा स्थानीयस्तरमै रोजगारीदेखि गाउँको मुहार नै फेरिनेमा उनीहरु अब ढुक्क छन् । विसं २०५२ मा बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भए पनि निर्माणको चर्चा २०७२ सालदेखि हुन थालेको थियो ।

बेदकोट –२ का रमेश चौधरीले औद्योगिक क्षेत्रको शिलान्यासले गाउँका युवामा उत्साह थपिएको बताए । “यहाँ उद्योग सञ्चालनमा आएपछि हामीले रोजगारीका लागि विदेशिनु पर्ने बाध्यताको अन्त्य पनि हुनेछ”, चौधरीले भने, “अब निर्माण कार्य तीव्र गतिमा कार्यान्वयन गर्दै लैजानुपर्छ ।”

उनले यसअघिका सरकारका मन्त्रीदेखि धेरै उच्चपदस्थ व्यक्ति आएर स्थलगत निरीक्षण गरेर जाने गरेको बताए । “यतिका वर्षसम्म आश्वासनमै टारे”, चौधरीले भने, “यसमा स्थानीय जनप्रतिनिधिको पनि सक्रिय भूमिकाले आज शिलान्याससम्म भयो ।”

त्यसैगरी अर्का स्थानीयवासी रेवती चौधरीले अब सन्ततिले मजदूरीका लागि अरूको शरणमा जानुपर्ने दिन गएको बताइन । “औद्योगिक क्षेत्र सञ्चालनमा आए यहाँको दैनिकीमै ठूलो सफलता मिल्ने दिनहरु आउँछन्”, उनले भनिन्, “उद्योग सञ्चालनकर्ताहरुले स्थानीयवासीलाई रोजगारीको पहिलो प्राथमिकतामा राख्नुपर्छ ।” यहाँ औद्योगिक क्षेत्रका लागि ९०० बिघा जग्गा प्रस्तावित गरे पनि ३८८ बिघाको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ ।

सरकारले घोषणा गरेको १४ वर्षपछि २०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपश्चात् यहाँको बेदकोट सामुदायिक र जनचेतना सामुदायिक वनको ९०० बिघा जग्गा औद्योगिक क्षेत्रका लागि दिने निर्णय भएको थियो ।

औद्योगिक क्षेत्रको डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआइए० को कामसमेत सम्पन्न भइसकेको छ । इआइए पश्चात् कार्यस्थलमा आएर ‘भेरिफाई’ गरेर मात्रै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा भोगाधिकारका लागि जानेछ ।

यहाँको बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले उक्त जग्गा भोगाधिकारबारे निर्णय आउन बाँकी रहेको बताए । “इआइएपश्चात् फिल्डमा आएर भेरिफाई गर्नुपर्छ, त्यो काम बाँकी छ, विभागबाट पत्र आएको छ”, नगरप्रमुख चन्दले भने, “बाँकी सरकारबाट भएका निर्णयहरु यहाँ पुगिसकेका छैनन् ।” उद्योग क्षेत्रका लागि हाल ३४९ बिघाको मात्रै डिपिआर तयार भएर काम अघि बढ्नेछ । उनले आर्थिक विकासका लागि औद्योगिक क्षेत्र महत्वपूर्ण हुने बताए ।

त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले छेला औद्योगिक क्षेत्र सञ्चालनले सुदूरपश्चिम प्रदेशकै विकासमा टेवा पुग्ने बताए । “निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाहरुले पनि औद्योगिक क्षेत्रको विकासका लागि लामो समयदेखि सरकारलाई गुहार माग्दै आएका थिए”, अध्यक्ष मल्लले भने, “अब यहाँ ठूला उद्योगहरु सञ्चालनका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ ।” उहाँले लामो समयपछि शिलान्यास भएको औद्योगिक क्षेत्रको विकास अघि बढेकामा खुशी व्यक्त गर्नुभयो । “शिलान्यस गरेर अब काम रोकिनु हुन्न”, उनले भने, “बजेट विनियोजनमा पनि सरकारले पहल गर्नुपर्छ ।”

साथै वर्तमान सरकारले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र बन्द अवस्थामा रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा देखाएको पहलकदमीले यहाँको आर्थिक, पर्यटकीय विकासमा आशाको सञ्चार पलाएको उनको भनाइ छ । “भारतसित व्यापारिक नाकाका रुपमा महाकाली पुल महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यहाँ अन्तरदेशीय नाकाका रुपमा विकास गर्ने विषय पनि महत्वमा रहनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?