प्राइम बैंकद्वारा पहिलो पटक ऋणपत्र जारी : ८.७५ प्रतिशत ब्याजदर

काठमाडौं । प्राइम कमर्सियल बैंकले पहिलो पटक ऋणपत्र जारी गरेको छ । बैंकले ८.७५ प्रतिशत ब्याजको ऋणपत्र जारी गर्न लागेको हो । १००० रुपैयाँ दरका ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकले २०८५ सालमा परिपक्व हुने गरी ऋणपत्र जारी गर्न लागेको हो । बैंकले फागुन १९ गतेदेखि ऋणपत्र जारी गर्नेछ । ऋणपत्रका लागि २३ गतेसम्म आवेदन दिन सकिन्छ । बैंकले कुल ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । कुल ३५ लाख कित्तामध्ये १४ लाख सर्वसाधारणलाई बिक्री गरिने छ । यसमा ५ प्रतिशत हिस्सा सामूहिक लगानी कोष कम्पनीहरुको पनि हुने छ ।
यस बाहेकको २१ लाख कित्ता ऋणपत्र प्राइभेट प्लेसमेन्टमार्फत संस्थागत लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ ।

सो ऋणपत्रको अवधि ८ वर्षको रहेको छ । हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी सिंगल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संस्थाको रुपमा लिइन्छ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ । नेपाल राष्ट्र बँैंकले सम्पूर्ण वािणज्य बैंकहरु्रले कोर पूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेपछि बैंकहरु ऋणपत्र निष्काशन गरिरहेका छन् ।

के हो ऋणपत्र ?

कुल ऋण पुँजीलाई सर्वसाधारणले खरिद गर्न सक्ने गरी स–साना इकाइमा विभाजन गरिएको अंश वा इकाइलाई नै ऋणपत्र भनिन्छ । ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन् ।

त्यस्तै,कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याजदर तथा भुक्तानी विधिका सर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखित पत्रलाई नै ऋणपत्र भनिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?