२०७७, ११ फाल्गुन मंगलवार ११:४५

दम्पती ओछ्यानबाटै गायब : ओछ्यानमा थियो रगतको छिट्टा, स्थानीयद्वारा सडक अवरुद्ध


प्रकाशित मिति : २०७७, ११ फाल्गुन मंगलवार ११:४५

काठमाडौं । महोत्तरीमा एक दम्पतीलाई घरबाटै अपहरण गरी बेपत्ता बनाइएको घटना सार्वजनिक भएपछि स्थानीयले जनकपुर–जलेश्वर सडक-खण्ड अवरुद्ध गरेका छन् ।

जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई राति सुतेकै ठाउँबाट अपहरण गरी बेपत्ता बनाइएको परिवारजनको भनाइ छ । उनीहरुको खोजी गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले जानकारी दिए ।

बिहानै अबेरसम्म झा दम्पती नउठेपछि सुतेको कोठामा हेर्न जादाँ झा दम्पति ओछ्यानमा नभेटिएको र त्यहाँ रगत पनि देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले बताए ।

अपहरित भई बेपत्ता पारिएका मोसाफिर झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए । अदालतमा विचाराधीन मुद्दाका विपक्षीसँग झाको विवाद हुँदै आएको थियो । सोही विवादमा उनको अपहरण भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस