निर्मलालाई न्याय माग्दा अधिकारकर्मी प्रहरी नियन्त्रणमा

कैलाली/टेकसिँह धामी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । अधिकारकर्मी शारदा चन्दसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन जाँदा कञ्चनपुरको दैजीबाट ६ जनालाई प्रहरीले नियन्त्रण लिएको हो । पक्राउ पर्नेमा अधिकारकर्मी शारदा चन्द, आनन्दी राना, मिना भण्डारी, लक्ष्मी मल्ल, निर्मला जोशी भट्ट र खडक विष्ट रहेका छन् ।

धनगढीबाट खटिएको प्रहरी टोलीले ६ जनामाथि लछारपछार गरेर घाईते बनाएर पक्राउ गरेको शारदा चन्दले बताईन् । प्रधानमन्त्रीलाई हामीले निर्मलाका हत्यारालाई पत्ता लगाउनका लागि ज्ञापन पत्र बुझाउन जाँदै थियो, उनले भनिन्,‘प्रहरीले माथिको आदेश छ भनेर हामीलाई रोकेर लछारपछार गर्यो।’ समय माग्दा समेत आफुहरुमाथि प्रहरीले अभद्र व्यवहार गरेको चन्दको आरोप छ ।

हामीसँग भएका मोवाईल समेत प्रहरीले कव्जामा लियो, प्रहरीले मौलिक हकको समेत हनन गरेको आरोप उनले लगाइन् । निर्मलाको हत्यारा खै र निर्मलालाई न्याय दे लेखिएको टिसर्ट २ जनाले लगाएको थियो । ४ जनाले टिसर्ट नलगाएको अवस्थामा नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा साढे २ वर्षअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । पक्राउ गरिएका सबैलाई हिजो सोमवार नै छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?