आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दै, एक दर्जन कम्पनी पाइपलाइनमा

काठमाडौं । शेयर बजारमा प्राथमिक शेयर आईपीओमा लगानीकर्ताको आकर्षण बढीरहेका बेला एक दर्जन कम्पनीले आईपीओ निष्कासन गर्ने मनसाय देखाएका छन् । आईपीओ निष्कासनका लागि १२ कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै आवेदन दिएका छन् ।
यो वर्ष हालसम्म ११ वटा कम्पनीको आईपीओ निष्कासन भइसक्दा अन्य १२ कम्पनीले पनि आईपीओ निष्कासनको लागि आवेदन दिएका हुन् ।

आवेदन दिनेमा अधिकांश जलविद्युत् कम्पनी रहेका छन् । जसमा साहस ऊर्जा लिमिटेडले १ करोड ५ लाख कित्ता, साम्लिङ पावर कम्पनीले १२ लाख ३० हजार कित्ता, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले १२ लाख कित्ता, हिमालयन हाइड्रोपावर लिमिटेडले २२ लाख ५० हजार कित्ता, बिन्ध्यवासिनी हाइड्रोपावर कम्पनीले २५ लाख कित्ता शेयर निष्कासनका लागि आवेदन दिएका बोर्डले जनाएको छ ।

यसैगरी डिस मिडिया नेटर्वकले २३ लाख ८५ हजार ९२९ कित्ता, सिबिआइएल क्यापिटलले ३ लाख कित्ता, मैलुङखोला जलविद्युत् कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता, मध्यभोटेकोसी जलविद्युत् कम्पनीले १ करोड ५० लाख कित्ता, न्यादी हाइड्रोपावर कम्पनीले ४० लाख ५० हजार कित्ता, ज्योति लाइफ इन्स्योरेन्सले ६६ लाख कित्ता र सिइबिडी हाइड्रोपावर कम्पनीले २५ लाख १८ हजार २३० कित्ता शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।

बोर्डले ति कम्पनीहरुको अध्ययन गरिरहेको छ । आईपीओ निष्कासन गर्न एक वर्षको अडिट रिपोर्ट आवश्यक हुन्छ । आवेदन दिने कम्पनीहरुमध्ये मापदण्ड पूरा भएको आधारमा आईपीओ निष्कासन अनुमति दिँदै जाने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?