प्रकृति र संस्कृतिमा होमस्टेको सफलता देख्दै ब्युहूँकोटवासी

RSS
0
Shares

बागलुङ । स्थानीय जागरुकताको अभावमा प्रकृति र संस्कृतिमा सम्पन्न भएर पनि देशका विभिन्न रमणीय स्थान ओझेलमा परिरहेका अवस्थामा बागलुङको ब्युहूँकोटका स्थानीयवासी भने यहाँका प्रकृति र संस्कृतिलाई घरवाससँग जोड्दै समृद्धिको यात्रामा जुटेका छन् ।

पर्यटकीय नगरी पोखराबाट ७२ किमी दूरी पार गरी पुगिने बागलुङबाट करिब २२ किमी सडक पार गरेपछि बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–५ स्थित शिवधुरी, ब्युहूँकोटमा पुग्न सकिन्छ । ब्युहूँकोटबाट ६० किमी दूरी पार गरेपछि नेपालकै महत्वपूर्ण ढोरपाटन शिकार आरक्ष पुगिने भएकाले पनि यस स्थानको गरिमा र महत्व अझै बढाएको छ ।

लाखौँ रुपैयाँ खर्चेर शिकारका लागि विशेषतः विदेशी पर्यटक बर्सेनि ढोरपाटन शिकार आरक्ष आउँछन् । ढोरपाटन आउनेमध्ये कतिपय काठमाडौँबाट सिधै हेलिकप्टरमार्फत आउँछन् भने कतिपय पोखरा हुँदै यही ब्युहूँकोट भएर सवारी साधनमार्फत पुग्दछन् । पछिल्ला वर्षमा देशका विभिन्न भागबाट शिकारको प्रयोजनका लागि नभई सामान्य घुमफिरका लागि ढोरपाटन पुग्नेको सङ्ख्या बढिरहेको छ ।

प्राकृतिक र सांस्कृतिकरूपमा पनि सम्पन्न ब्युहूँकोटमा यहाँका प्रकृति र संस्कृतिलाई जोड्ने गरी घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको शिवधुरी सामुदायिक घरवासका अध्यक्ष प्रेमबहादुर श्रीसले बताए । “पोखरा हुँदै ढोरपाटनसम्म पुग्ने पर्यटकका लागि हामीले सुविधासम्पन्न घरवास सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “प्रकृति र संस्कृतिलाई जोड्दै पर्यटकको आकर्षक गन्तव्यका रूपमा शिवधुरी सामुदायिक होमस्टेको विकास गर्ने हाम्रो दीर्घकालीन लक्ष्य छ ।”

घरवास पर्यटनमा पूर्वाधार विकासका लागि राज्यको सहयोग अपरिहार्य भएको बताउँदै अध्यक्ष श्रीसले सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह हुनुपर्ने आवश्यकता औँल्याए । घरवास सञ्चालनका लागि निर्धारित मापदण्डलाई सहज बनाउनुपर्ने उल्लेख गर्दै उनले ब्युहूँकोटजस्ता सुन्दर गाउँ प्रवद्र्धनको पर्खाइमा रहेको बताए ।

ब्युहूँकोटमा मगरलगायत सबै वर्ग र समुदाय मिलेर बसेका छन् । यहाँ आउने पर्यटकले मगर संस्कृतिका विविध पक्षका साथै मारुनी र सोरठीजस्ता नृत्य प्रत्यक्ष अवलोकन गर्न पाउने अध्यक्ष श्रीसले जानकारी दिए । गाउँमा रहेका विभिन्न पञ्चेबाजाको समूह, ब्राह्मण समुदायको भजन चुड्काले पनि यहाँको संस्कृतिलाई थप मद्दत पुर्याएको घरवास सञ्चालक समितिका उपाध्यक्ष ध्रुवबहादुर कँडेलले बताए । पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी स्थानीयवासीले वरपर उपलब्ध सामग्रीको उपयोग गरी दृश्यावलोकन स्तम्भसमेत निर्माण गरेका छन् ।

“प्रकृति र संस्कृतिका विविधतालाई पर्यटकमाझ पुर्याउँदै स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद लिनसक्ने गरी घरवास सञ्चालनमा ल्याइएको उनले बताए । स्थानीयवासीले होमस्टेमा आउने पर्यटकलाई स्थानीयरूपमा नै उत्पादित विभिन्न तरकारीका साथै भाँगोको अचार, सिलामे चामलको भात, बाकोको सिन्की आदिको स्वाद चखाउने गरेका छन् । पछिल्ला दिनमा पर्यटकलाई लक्षित गरी किबीलगायतका फलफूल उत्पादन गर्ने क्रम पनि बढेको छ । घरवासको प्रभावकारिताका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च भिटोफले अघिल्लो वर्ष बागलुङमा गरिएको घरवास तालीममा यहाँका सञ्चालक सहभागी भएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।

शिवधुरी धार्मिक एवं ऐतिहासकस्थल पनि हो । सडक पूर्वाधार नबन्दै बागलुङबाट बुर्तिबाङ, ढोरपाटन हिँड्ने मुख्य पैदल मार्गसमेत भएकोले यसको प्राचीनकालदेखि नै महत्व रहँदै आएको स्थानीयवासी बताउँछन् । ब्युहूँकोट आसपासमा रहेका त्रिपुरेश्वर महादेव मन्दिर, शिवपुरी धाम, घोडा बाँधे आदि यहाँका महत्वपूर्ण आकर्षण रहेको काठेखोला गाउँ कार्यपालिकाका सदस्य एवं स्थानीय समाजसेवी हेमलाल विकले बताए । दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ यहाँस्थित शिवपुरी धाममा टाढाटाढाबाट दर्शनार्थी आउने गरेका छन् । नजिकै रहेका यी धार्मिक एवं ऐतिहासिकस्थलका कारण यसलाई धार्मिक पर्यटनको पनि आकर्षक गन्तव्यका रूपमा विकास गरिने लक्ष्य राखिएको अध्यक्ष श्रीसले बताए ।

घरवास शुरु गरे पनि विश्वव्यापी फैलिएको कोभिड–१९ को महामारीका कारण यहाँको घरवास पनि प्रभावित भएको होमस्टेका सचिव प्रेमबहादुर पुनले जानकारी दिए । “कोरोनाको कहरले हाम्रो होमस्टेलाई पनि नराम्रोसँग प्रभावित गर्यो, आगामी दिनमा पुनः यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने विश्वास लिएका छौँ”, उनले भने । प्राकृतिकरूपमा सुन्दर धार्मिक पर्यटकीय गन्तव्यका साथै विभिन्न जातजातिका संस्कृतिलाई यहाँको पर्यटकीय विकासमा भरपुर उपयोग गरिने उनले बताए ।

प्रकृति र संस्कृतिलाई घरवाससँग जोड्दै समृद्धिका लागि यहाँका स्थानीयवासीले देखाएको सक्रियता प्रशंसायोग्य भएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष अधिकारी बताउछन् । ‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको प्रवर्द्धन र विकासमा जोड दिएको बताउँदै उनले स्थानीयवासीको जागरुकता भएमा यहाँको विकासका हरेक पक्षमा आफूहरूले साथ र सहयोग गर्ने बताए । लामो समयदेखि कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीसहितको टोली पुनःउत्थान एवं प्रवर्द्धन कार्यक्रमसहित एक महिना अघि ब्युहूँकोटमा पुगेको बताउँदै उहाँले उक्त क्षेत्रको पर्यटकीय सम्भावना धेरै पाइएको उल्लेख गरे । “प्रकृति र संस्कृति नै गाउँ पर्यटनका प्रमुख आधार हुन्, यिनीहरूको उपयोगबाटै गाउँ पर्यटनको विकास सम्भव छ”, उनले भने, “स्थानीय जागरुकतासँगै राज्यको साथ र सहयोग भएमा नेपालका धेरै गाउँ पर्यटकीयरुपमा विकास हुने प्रचुर सम्भावना छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?