बालप्रज्ञाको नयाँ अङ्क प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट अर्धवार्षिक रूपमा प्रकाशन हुने बालपत्रिका ‘बालप्रज्ञा’को तेस्रो अङ्क प्रकाशित भएको छ । ‘बालप्रज्ञा’को नयाँ अङ्कमा नेपाली बालसाहित्यका विशिष्ट स्रष्टा शान्तदास मानन्धरको रोचक बालापनसहित बालबालिकालाई सत्कार्यमा हौसला प्रदान गर्ने खालका कुलमान घिसिङ र स्टेफेन हकिङको उत्प्रेरणामूलक जीवनी प्रस्तुत गरिएको छ ।

विशेषतः बाह्र वर्षमुनिका बालबालिका र सोह्र वर्षमुनिका किशोरकिशोरीहरूको रुचि, भाषिक क्षमता र विषयक्षेत्रलाई समेट्ने खालका कविता, गीत, गजल, कथा, निबन्ध, एकाङ्की र विविध जानकारीहरू यस अङ्कमा प्रकाशित छन् ।

यस पत्रिकाले बालस्रष्टादेखि प्रौढ स्रष्टासम्मका बालउपयोगी सामग्रीहरू प्रकाशन गर्दै आएको छ । विशेष गरी बालबालिकालाई ज्ञान र मनोरञ्जन प्रदान गर्नुका साथै तिनमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यस बालपत्रिकाको प्रकाशन शुरु गरिएको र तेस्रो अङ्कसम्म आइपुग्दा यो बालसाहित्यप्रेमी प्रौढ पाठक र सिर्जनाप्रेमी धेरै बालबालिकाका बिचमा लोकप्रिय बनेको प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?