प्रदेश प्रमुखको प्रतिबद्धता- ‘शिरमा देश र मनमा मधेश’

काठमाडौँ– प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले शिरमा देश र मनमा मधेश राखेर कामको सुरूवात गर्ने बताएका छन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट प्रदेश प्रमुख नियुक्त भई आइतवार साँझ पदभार ग्रहण गर्दै झाले जन्मभूमि प्रदेश २ को प्रदेश प्रमुखको रूपमा कार्य थालनी गरेकोले शीरमा देश र मन मधेशमा राखेर गर्ने बताए। ‘देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज, जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुनसक्छ, त्यसैले प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ,’ पदभार पछि झाले भने।

उनले प्रदेश २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्ने आवश्यकता रहेको बताए । देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको उनको भनाइ छ।

पदभार ग्रहण गर्दै उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश २ मा आफूले काम गर्ने सौभाग्य पाएको जिकिर गरे । उनले सामाजिक विभेद अन्त्य गरी राष्ट्रिय एकतामा निरन्तर बल पु¥याउन सक्नुपर्ने बताए ।

प्रदेश प्रमुख झालाई प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झासहित प्रदेशका प्रमुख सचिव धु्रव गैरे, ओली समूहका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल लगायतकाले पदभार ग्रहण गर्ने क्रममा स्वागत गरेका थिए । प्रदेश प्रमुख झा विमानस्थलबाट सोझै जानकी मन्दिरमा पूजापाठ तथा दर्शनका लागि गएका थिए । त्यसलगत्तै उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए।

मन्त्रिपरिषदबाट सिफारिस भएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रवार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राजेश झा (अहिराज) लाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?