अपराधसँग जोडिएको ‘कारण’ यस्तो, आमाबुवासहित ७ जनाको हत्या गरेकी शबनमको शव परिवारले नबुझ्ने

लोकपथ
0
Shares

काठमाडौं – १५ अप्रिल २००८ को रात । पानी परेको दिन । मध्यरात । 

आमा–बुवासहित ७ जनालाई बञ्चरो हानेर हत्या गरी जेल जीवन बिताइरहेकी शबनमलाई मृत्युदण्ड दिने तयारी भइरहँदा उनको काकाको परिवारले मृत्युदण्डपछि उनको शव नबुझ्ने प्रतिक्रिया दिएका छन् ।

यूपीको अमरोहा जिल्लाको बावनखेडी गाउँमा बस्ने उनीहरुले विभत्स हत्या गर्ने उनको शव बुझ्नु पनि अपराध हुने भनेका छन् ।

आफ्ना प्रेमी सलिमसँग मिलेर आमा–बुवासहित सात जनालाई बञ्चरोले काटेर हत्या गरेकी शबनमको भारतको उत्तर प्रदेशको अमरोह जिल्लाको बावनखेडी गाउँमा यतिबेला मिडियाको चर्को आवतजावत छ ।

राष्ट्रपतिले दया याचिका खारेज गरिसकेका कारण शबनम र उनका प्रेमी जो फरक फरक जेलमा सजाय काटिरहेका छन् ।

दुबैको ‘डेथ वारेन्ट’ कुनै बेला पनि जारी हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शबनम भारतमा मृत्युदण्ड पाउने पहिलो महिला पनि हुन् । यसैकारण पनि उनको चर्चा छ । धेरैले उनको अपराधकर्मको सजाय जैसाका तैसा भनेर प्रतिक्रिया दिएका छन् । केहिले जेलमा नै सडाउनुपर्ने भन्ने पनि सुझाव दिएका छन् । बुलंदशहरको एक दम्पत्तिले उनका छोरा ताजलाई अपनाएका छन् । ६ कक्षामा पढ्ने उनी जेलमा जन्मिएका थिए । शबनमका यी छोराको एक पत्रकारको घरमा हुर्किरहेको छ । यो दम्पत्तिले हेरविचार गरिरहेको छ । बच्चाले ती दम्पत्तिलाई सानो मम्मी, पापा भन्छन् । शबनमलाई ठूली आमा । उनी ६ वर्ष ७ महिना र २१ दिन आमासँग जेलमा बसेका थिए । बाल कल्याण समितिले बच्चाको राम्रो लालनपालनका लागि ३० जुलाई २०१५ मा उनलाई बुलंदशहरको यी दम्पत्तिलाई सुम्पिएका थिए ।

यस्तो थियो कसुर 
परिवारले विवाहमा बाधा पुर्‍याइरहेका कारण आमाबुबासहित ७ जना परिवारको सदस्यको घाँटी रेटेर हत्या गरेकी शबनम त्यतिबेला गर्भवती समेत थिईन् । हत्या भएका सात लाशबीच जिउँदो बचेकी घरकी एक्ली छोरी शबनम चिच्याउँदै रोइरहेकी थिइन् । र आफूलाई पनि झण्डै मारेको भन्ने झुटो अभिव्यक्ति दिइरहेकी थिईन् । आफ्नै परिवारको त्यो पनि ७ जनाको विभत्स हत्या हुँदा ज्यान जोगाएको झुटो कबोल गरिरहेकी शबनमले सबैतिरबाट सहानुभूति पाइरहेकी थिइन् तर प्रहरीले ७२ घण्टाभित्रै घटनाबारे पर्दाफास गरिदिए । प्रहरी अनुसन्धानबाट शबनमले प्रेमी सलिमसँग मिलेर शुरुमा पूरा परिवारलाई दुधमा निद्रा लाग्ने औषधी खुवाएको र पछि घाँटी रेटेको खुलासा भयो । पछि पोष्टमार्टम रिपोर्ट आएपश्चात् घरभित्रै मारिएका सबैलाई सोही घरको परिसरमा एउटै लाइनमा राखेर गाडिएको छ । सो घरमा अहिले शबनमका काकाकाकी बस्छन् ।

यस्तो थियो नरसंहारको कारण


शबनम सलिमसँग विवाह गर्न चाहन्थिन् । उनीहरुको प्रेम सम्बन्ध झाँगिएको थियो । तर जात, पेशा र परिवारको स्ट्याण्डर्ड नमिलेका कारण शवनमको परिवारले यो विवाह र सम्बन्ध स्विकार्न चाहेको थिएन । कारण शबनमका पिता शिक्षक थिए र परिवार आर्थिक रुपमा सम्पन्न थियो । शबनम अस्थायी शिक्षिका थिइन् जो चाँडै नै स्थायी हुन लागेको थिइन् । शबनमले मन पराएका सलिम आरा मेसिनमा काम गर्दथे । उनले अंग्रेजी र भूगोल विषयमा एमए अध्ययन गरेकी छन् । तर उनका प्रेमी सलीमले पाँच कक्षासम्म मात्र अध्ययन गरेका छन् । हत्याकाण्डका बेला शबनमको उमेर २७ वर्ष थियो । २० २२ वर्ष उमेरमा नै विवाह हुने यस गाउँमा एमए पास शबनम गाउँकै एक स्कूलमा शिक्षिका थिइन् र थप पढ्न चाहन्थिन्। विवाहको प्रस्ताव घरमा आएपछि उनी सजिलै रिजेक्ट गरिदिन्थीन् र आफूले मन पराएको सलिमसँग विवाह गर्न पाउनुपर्ने जिद्दि अगाडी सार्थिन् । शबनम र सलिमको प्रेम प्रसंगबारे गाउँमा पनि हल्ला थियो । सलिम शबनमबीच प्रेम छ भन्ने थाहा भएपछि परिवारले शबनममाथि धेरै कुराहरुमा प्रतिबन्ध लगाएको थियो । भारतीय मिडियाले सलिमको ध्यान शबनमको मायामा भन्दा पनि उसको सम्पत्तिमाथि थियो। जब अविवाहित उनीहरुबीचको यौनसम्पर्कका कारण शबनम गर्भवती भईन् तब विवाहका लागि सलिमलाई दबाब दिन थालिन् । सलिम भन्थे हाम्रो मायामा ‘तेरो परिवार बीचमा छ’। सलिमले धेरैपटक शबनमलाई ‘तँ मलाई पाउनका लागि आफ्नो परिवारलाई नष्ट गर्न सक्छस् रु’ भनेर समेत सोध्थे । सलिमलाई लागेको थियो कि यो कुराले शबनम पछि हट्नेछिन् । तर शबनम एक केटाको लागि यतिसम्म गिरिन् कि आफ्नो परिवारको विभत्स हत्या गर्न उनीलाई धेरै बेर नै लागेन । उनै शबनम र सलिम दुबैजना भिन्न जेलमा बन्द छन् र मृत्युदण्डको सजाय कुरिरहेका छन् ।’

शबनमको घरमा अहिले उनका काका सत्तार अली र काकि फातिमाको परिवार बसिरहेको छ । उनीहरुको जग्गा जमिन पनि उनैले हेरिरहेका छन् । उनीहरु यो निर्ममतापूर्ण अपराध कथामा निकै कट्टर सुनिन्छन् । हामी उसको शव पनि बुझ्दैनौँ । बच्चा पनि नाजायज हो उसलाई यो सम्पत्ति किन दिने सरकारले किन ढिला गरेको होला मृत्युदण्ड दिन ।

मथुरा जेलमा फाँसी दिने तयारी ?


भारतको उत्तर प्रदेश राज्यस्थित मथुरा जेलमा रहेको फाँसी घर मर्मत गर्न थालिएको छ । मृत्युदण्डको सजाय पाएकी एक महिलालाई शबनमलाई फाँसी दिने तयारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मथुरा जेलमा एक सय ५० वर्ष अघि नै फाँसी घर बनाइएको हो। यो जेलमा महिलालाई फाँसी दिने व्यवस्था रहे पनि भारत स्वतन्त्र भए यता यो जेलमा महिलालाई फाँसी दिइएको छैन । हालै जेल प्रशासनले कसुरदारलाई फाँसीमा झुण्ड्याउने जल्लादलाई दुई पटक फाँसी घरको निरीक्षण गराएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनकै सुझावका आधारमा फाँसी घरको मर्मत र फाँसीमा प्रयोग हुने डोरीसमेत जेल प्रशासनले मगाएको छ ।

सलिमको परिवार के भन्छन् ?

शबनम र सलिमको गाउँ नजिकै छ । सलिमको परिवार एक सामान्य परिवार हो । भारतीय सञ्चार माध्यमका अनुसार त्यहाँका मानिसहरु यो विषयमा खासै कुरा गर्नका मानेका छैनन् । ”जब हामी जेलमा सलिमलाई भेट्छौँ तब उसले आफूलाई त्यहाँबाट निकाल्न बिन्ति गर्छन् । मेरो छोराले यस्तो गर्न सक्ला भनेर म विश्वास पनि गर्न सक्दिनँ । आमा हुँ । यो मनमा कति दर्द होला ? जे सोच्छु जति पिर छ सबै भन्न नै सक्दिन । म प्रार्थना गर्छु कि अल्लाहले मेरो छोरालाई फिर्ता गरिदिउन् ।’’ उनकी आमाले एक मिडियामा भनेकी छिन् ।सलिम गाउँमा आरा मेशिन चलाउने अब्दूल रउफका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?