प्रदेश शहीदको स्मृतिमा पार्क निर्माण

RSS
0
Shares

कर्णाली । कर्णाली सरकारले सुर्खेतको वीरेन्द्रनगर ४ मा प्रदेश प्राप्तिको आन्दोलनका शहीदको स्मृतिमा पार्क निर्माण गरेको छ । वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक सहयोगमा भैरम सामुदायिक वन क्षेत्रमा पार्क निर्माण सम्पन्न गरेको हो ।

छुट्टै प्रदेशको माग राखी संविधान जारी हुनुपूर्व यस क्षेत्रमा भएको आन्दोलनमा सुर्खेतका तीन र जुम्लाका एक जनाले ज्यान गुमाएका थिए । सुर्खेत वीरेन्द्रनगरका टीकाराम गौतम, गोपालसिं रजवार, याम वीसी र जुम्लाका हरिबहादुर कुँवरलाई प्रदेश आन्दोलनका शहीदका रूपमा कर्णाली प्रदेशले सम्झने गरेको छ । यी चार शहीदको सम्झनामा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा वातावरण निर्देशनालयले पार्क निर्माणको योजना अघि बढाएको हो ।

अभियान निर्माण सेवाले एक करोड १३ लाख ५१ हजार लागतमा पहिलो चरणको काम सम्पन्न गरेको निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पार्कमा स्तम्भ, बगैँचा, पर्खाल निर्माण गरिएको छ । दोस्रो चरणमा वनस्पति उद्यानलगायत निर्माण गर्ने तयारी छ । वन निर्देशक शिवराम अधिकारीले बहुवर्षीय योजना भएकाले बाँकी संरचना थपिँदै जाने बताए। पार्क निर्माणसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । भैरम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर कार्कीले बिदाको दिनमा पार्क हेर्न आउनेको घुइँचो लागेको बताए । “शहीदहरुकोे सम्मानमा वन क्षेत्रभित्र पार्क निर्माण गर्न दिएका हौँ, पार्क बनेसँगै घुमफिर गर्न आउनेको सङ्ख्या धेरै छ”, उनले भने, “पार्कमा सबै संरचना नबन्दै यहाँ आएर फोटो÷सेल्फी खिच्न र टिकटक बनाउनेको थामिनसक्नु भीड छ ।”

पार्क निर्माण भए पनि संरक्षण कसले गर्ने भन्ने अन्योल पनि कायमै छ । वन उपभोक्ता समितिले तत्काल पार्क हस्तान्तरण गर्न वन तथा वातावरण निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकालाई आग्रह गरेको छ तर निर्देशनालयले भने वन समूहको कार्ययोजनामै पार्क स्वीकृति भएकाले सामुदायिक वनले सुरक्षा एवं संरक्षणको जिम्मा लिनुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?