संसद विघटनले जटिलता निम्त्यायो,अब ताजा जनादेश : कमल थापा

गौरिगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संसद विघटनले संबैधानिक जटिलता निम्त्याएको बताएका छन् । शनिवार झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र, धर्मपरिवर्तन र सर्बसत्तावादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने विचार ब्यक्त गरे ।

अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने,अभिभावकको रुपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्बोपरी हित हुने दाबी गरे ।

सबै धर्मको सम्मान हुने गरि सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृती, परम्परा र मौलिकताको जगेर्ना हुने थापाको धारणा छ ।
१४ वर्षको राजनितीक अभ्यास असफल भएको भन्दै विदेशी दवाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहरी राजनीतिले काम गरेको उहाँको भनाइ थियो । कम्युनिष्ट पार्टी भित्रको द्वन्द देश हित र निर्माणका निमित्त नभइ कुर्सी, शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो।

कार्यक्रममा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपालाई काङ्ग्रेस र कम्युनिस्टको विकल्पको रुपमा स्थापित गराएरै छाड्ने दृढता ब्यक्त गरे। लिङ्देनले भ्रष्टाचार र बेथितिकोविरुद्धमा राप्रपाले सशक्त आवाज उठाएर जनताको माझमा जाने बताए। कार्यक्रममा नेताहरू राम थापा, टेकनारायण राजबंशि, अम्बर बिष्ट ,बाशुदेब भट्टराई , बाबुराजा श्रेष्ठ, लगायतले सम्बोधन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?