ओलीसँग सत्तामा बस्ने नैतिक अधिकार छैन : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्तामा बस्ने अधिकार नरहेको टिप्पणी गरेका छन् । हिजो शनिवार विराटनगरमा आयोजित कार्यक्रममा अदालतले संसद पुनःस्थापना गरे आन्दोलन गर्ने ओलीको अभिव्यक्तिप्रति भट्टराईले नैतिक अधिकारको प्रश्न उठाएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् देशको प्रधानमन्त्रीले नै सेटिङ भएर संसद विघटन सदर नभए आन्दोलनको विकल्प छैन भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको टिप्पणी गरेका हुन् । ओलीको यस्तो अभिव्यक्तिलाई उनले लोकतन्त्रमाथिको भद्दा मजाक भनेका छन् ।

अदालतले संसद पुन:स्थापना गरे आन्दोलन गर्छु भनेर ओलीले अदालतमाथि दबाब दिएको भट्टराईको निस्कर्ष छ ।

“देशको प्रमले नै’कुनै सेटिंग-फेटिंग भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता ब्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ? यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ?” उनले लेखेका छन्, “सत्ता कब्जा गरेर बस्नेको संलग्नता विना कसले सेटिंग गर्ने हो ? अदालतमाथिको दबाब पुष्टी भएन र ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?