पौडेलको हत्याराहरुको आममाफीप्रति तरुण दलको आपत्ती

काठमाडौं । सरकारले प्रजातन्त्र दिवसका अवसरमा कैद सजाय भोगिरहेकाहरुलाई दिएको आममाफीको नेपाल तरुण दलले भत्र्सना गरेको छ । तरुण दलका अध्यक्ष जित जंग बस्नेतले आज शनिवार एक विज्ञप्ती जारी गर्दै फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल केसीको आममाफीप्रति गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको भत्र्सना गरेका हुन् । नेपाल तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलको जेलभित्रै हत्या गरेका उनीहरु ३ सहित अन्य ५९२ जनालाई सरकारले शुक्रवार आममाफी दिएको थियो ।

गम्भीर अपराध गर्ने अपराधीहरुलाई आममाफी दिएर सरकारले प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाएको तरुण दलको टिप्पणी छ ।

“जेल भित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरुलाई सरकार र राष्ट्रपति जस्तो संस्थाले आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छीत कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य दिन प्रति दिन बढ्दै गईरहेको प्रष्ट भएको छ”, विज्ञप्तीमा भनिएको छ, “सरकारको यस्ता गैरजिम्मेवारपूर्ण कार्यले नेपाल तरुण दल र लोकतन्त्रवादी आम तरुणहरुलाई गम्भीर र आन्दोलित तुल्याएको हुँदा अपराधीहरुलाई संरक्षण गर्ने जनविरोधी सरकारको उक्त निर्णयको विरुद्ध चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्न नेपाल तरुण दल केन्द्रिय समिति दलको चितवन जिल्ला समितिलाई यसै प्रेस विज्ञप्ती मार्फत निर्देशन गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?