पाँच लेखक पुरस्कृत

RSS
0
Shares

वाग्लुङ । रत्न–श्रेष्ठ पुरस्कार गुठी वाग्लुङले विभिन्न विधामा पाँच लेखकलाई शुक्रवार पुरस्कृत गरेको छ । गुठीले हरेक दुई/दुई वर्षमा प्रदान गर्ने ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’बाट यो वर्ष लेखक चन्द्रप्रकाश बानियाँ पुरस्कृत भएका छन् ।

निबन्ध कृति ‘भौज्याहा’का लागि उनी पुरस्कृत भएका हुन् । म्याग्दीको बेनी नगरपालिका–५ पुलाका बानियाँ यो वर्षको ‘मदन पुरस्कार’ विजेतासमेत हुन  ।  यस्तै ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ लेखक डा. प्रमोद ढकालले प्राप्त गरेका छन् । २५ हजार राशिको सो पुरस्कार निबन्ध कृति ‘पूर्वीय दर्शनको पुर्नव्याख्या’का लागि उनलाई प्रदान गरिएको गुठीले जनाएको छ ।

गुठीले नै प्रदान गर्ने ‘धवलागिरि प्रतिभा पुरस्कार’ लेखक महेश्वर पन्तलाई प्रदान गरिएको छ । उपन्यास कृति ‘फुर्लुङ’का लागि उनी पुरस्कृत भएका हुन् । पुरस्कारको राशि १५ हजार रहेको छ । गुठीमा स्थापित ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ प्रा.डा रमेशचन्द्र अधिकारीले प्राप्त गरेका छन् । ‘जीवन दर्शनको रुपरेखा’ कृतिका लागि अधिकारी पुरस्कृत भएका हुन् । सो पुरस्कारको राशि २५ हजार रहेको छ ।

यस्तै गुठीद्वारा सञ्चालित ‘गुरु गणेश–विष्णु स्मृति पुरस्कार’ लेखक मीनराज वसन्तलाई प्रदान गरिएको छ । उपन्यास कृति ‘पिपिरी’का लागि लेखक वसन्त पुरस्कृत भएका हुन् । उक्त पुरस्कारको राशि १२ हजार रहेको छ ।

यहाँ आयोजित समारोहमा वरिष्ठ अधिवक्ता पदमनाथ शर्मा र गुठीका संस्थापक/संरक्षक प्रेम छोटाले लेखकलाई पुरस्कार प्रदान गरेका थिए । पुरस्कृत कृतिमाथि धौलागिरि बहुमुखी क्याम्पसका प्रा.डा दिनबहादुर थापाले समीक्षात्मक टिप्पणी राखेका थिए । नेपाली भाषा र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका कवि, लेखकलाई पुरस्कृत गर्ने गरिएको संस्थापक/संरक्षक छोटाले बताए । पुरस्कार ग्रहणपछि बोल्दै लेखकले आफूहरुको सिर्जनाकर्ममा ऊर्जा थपिएको प्रतिक्रिया दिएका छन् । साहित्यकार छोटाले आफ्नी दिवङ्गत आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ सालमा पुरस्कार गुठी स्थापना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?