काठमाडौं । नेपाली कांग्रेसले सरकारको सिफारिसमा २ नं. प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिबारे विरोध र भत्सर्ना गरेको छ ।
आज मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई पदमुक्त गर्दै राजेश झालाई प्रदेश प्रमु्खमा नियुक्त गरेकी थिइन् ।
त्यसबारे आपत्ती जनाउँदै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको बताए ।
आज फेरि त्यही प्रवृत्ति दोहोर्याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको उनले आरोप लगाए । त्यस्तै निर्वाचन घोषणा गरेर निर्वाचन आयोगलाई आन्तरिक दबाव दिँदै सरकार बर्खास्त र नियुक्तीतर्फ लाग्नु नैतिक आचार दृष्ट्रिमा समेत अत्यन्तै गलत र आपत्तीजनक भएको जनाएको छ ।
“अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहोर्याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।
संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै नमिल्ने र नपाइने कांग्रेसले जनाएको छ। यसरी यसप्रति कडा विरोध जनाउंदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया