महासमिति सदस्य मित्रसेन दाहालको निधनप्रति कांग्रेसद्वारा दुख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको महासमिति सदस्य मित्रसेन दाहालको निधप्रति दुख व्यक्त गरेको छ ।

जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्व पार्टी सचिव समेत रहेका दाहालको आज बिहान ९ः ४५ बजे उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा हृदयघातका कारण निधन भएको हो ।आज (शुक्रवार) बिहान घरमा बसिरहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई ओम अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको हो।

स्वर्गीय दाहालले नेपाली कांग्रेसद्वारा संचालित वि.सं. २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यतित गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्वर्गीय दाहाल राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा संलग्न रहँदै आएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “वि.सं. २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर – ४ मा जन्मनु भएका दाहाल वि.सं. २०७४ सालमा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा ओखलढुंगा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । स्वर्गीय दाहालले नेपाली कांग्रेसद्वारा संचालित वि.सं. २०४२ सालको सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक – पटक गरी डेढ वर्ष जेल जीवन समेत व्यतित गर्नु भएको थियो । स्वर्गीय दाहाल राजनीतिक क्षेत्रको साथ साथै लामो समयदेखि दर्जनौं सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध संघसंस्थाहरुमा संलग्न रहँदै आउनु भएको थियो ।”

स्वर्गीय दाहालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

स्वर्गीय दाहालको श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् । दुवै मिर्गौला प्रत्यारोपण गरेका दाहालले ज्येष्ठ नागरिकका लागि लप्सिफेदीमा आश्रम निर्माण गरेका थिए ।

आजै अपरान्ह ३ बजे उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको मुख्यसचिव पौडेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?