नागरिकतासहित पेरिसडाँडामा उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई दाहाल–नेपालको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय कमिटीका सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । अपरान्ह १२ बजे आफ्ना केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पेरिसडाँडामा अनिवार्य उपस्थित हुन दाहाल–नेपाल समूहको नेकपाले निर्देशन दिएको हो ।

निर्वाचन आयोगले नेकपाको आधिकारिता विवाद टुंगाउन ढिला गरेपछि आयोगलाई दबाब दिन केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन निर्देशन दिइएको हो । नागरिकताको प्रतिलिपि बोकेर पार्टी कार्यालय आउन भनेपछि उपत्यकाबाहिर रहेका केन्द्रीय कमिटीका सदस्यहरू अहिले काठमाडौं आउँदै छन् ।

आयोगले गत माघ १२ गते नेकपाका दुवै समूहलाई आधिकारिता दिन नसकिने निर्णय गरेको थियो। त्यसपछि यो समूह आफू नै आधिकारिकता भएको निवेदन लिएर माघ २० मा आयोग पुगेको थियो । तर, आयोगले नेकपा विवाद समाधान नगरी निर्वाचनको तयारी शुरु गरेपछि सशंकित भएका दाहाल–नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई काठमाडौं बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?