प्रधानमन्त्री ओलीले सर्वोच्चमा बुझाए अवहेलना सम्बन्धी मुद्दाको लिखित जवाफ

काठमाडौं । आफूविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको लिखित जवाफ लिएर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्चमा उपस्थित भएका छन् ।

बिहीवार दिउँसो अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफसहित उपस्थित हुन आग्रह गरेको थियो । त्यस्तै आदेशअनुसार प्रधानमन्त्री ओली आफै लिखित जवाफ लिएर उपस्थित भएका हुन् ।

लिखित जवाफ सर्वोच्चमा बुझाएर प्रधानमन्त्री ओली केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् ।

प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै माघ १३ गते मुद्दा दर्ता भएको हो ।

संसद विघटनविरुद्धको मुद्दामा रिट निवेदकको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले बाजे वकिलको तमासा भन्ने संज्ञा दिएका थिए ।

प्रधानमन्त्री ओलीले अधिवक्ता साथै अदालतको नै अवहेलना गरेको भन्दै ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए ।

गत माघ १५ गते उक्त मुद्दामा सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

त्यस्तै लिखित जवाफ पेस गरेपछि प्रधानमन्त्री ओलीले न्यायपरिषद सचिवालयको निर्माणाधीन भवनको निरीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?