‘खलासी’मा खुले खतिवडा (भिडियो)

काठमाडौं । रङ्गकर्मी सुजन खतिवडा र्‍याप गीत ‘खलासी’मा देखिएका छन् । ‘मेरो नाम चाहिँ खलासी’ बोलको गीतमा र्‍यापर प्रोस्टेनको आवाज रहेको छ । अमेरिका रहेर नेपाली हिपप संगीतलाई हुर्काइरहेका प्रोस्टेनले डेढ वर्षअघि रचना गरेर गाएको उक्त गीतको बाँकी काम लकडाउनले गर्दा रोकिएको थियो ।

भक्तपुर स्थायी घर भएका २३ वर्षीय प्रशान्त पराजुली अहिले अमेरिकाको डल्लासमा छन् । उनले २०१९ पहिलो गीत ‘गारो छ सोल्टी’ ल्याएका थिए जसमा अध्ययनका लागि विदेशिएका विद्यार्थीको संघर्षको कथा सुन्न पाइन्छ । उनले ‘भिसिट नेपाल २०२०’, ‘यात्रा’ लगायतका गीत गाएका छन् ।

नेपाली संगीतलाई हलिउडमा चिनाउन चाहने उनी खलासी पात्र मार्फत् आवाजविहिनहरुको आवाजलाई उठाउन चाहन्छन् । गीतले खलासी पेशाप्रति मानिसको परम्परागत धारणामा परिवर्तन आउने उनको विश्वास छ ।

गीतको म्युजिक भिडियोमा खतिवडाको अभिनय रहेको छ भने निकेश खड्काको निर्देशन रहेको छ । गीतमा खलासी पेशा सम्मान गर्न लायक भए पनि नेपाली समाजमा यसलाई अपमान गरिने वास्तविकतालाई उजागर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?