काठमाडौं- शसस्त्र प्रहरीको एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबल उपाधि जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधवार विराटनगर महानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफले लिग उपाधि जितेको हो ।
विराटनगरसँगको प्रतिस्पर्धाका लागि मैदानमा उत्रिनु अघि नै लिग विजेता बनिसकेको एपीएफका लागि अनिता केसीले निर्णायक गोल गरिन् । लगातार ११ खेलमा अपराजित एपीएफ बुधबार नै त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा रहेपछि दुई खेल अघि नै च्याम्पियन बनेको हो ।
दुई खेल अघि नै लिग च्याम्पियन बनेको एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ । जारी लिगमा एपीएफ अपराजित रहने एकमात्र टोली हो । पुलिस क्लबसँग अंक बाँडेपछि ११ खेलमा २६ अंकसंगै आर्मीले दोस्रो स्थान सुरक्षित गरेको छ । विराटनगर १६ अंकसहित तेस्रो तथा १५ अंकले नेपाल पुलिस क्लब चौथो स्थानमा रहेका छन् ।
प्रतियोगिताको उपाधि जितेसँगै एपिएफले १० लाख नगद पुरस्कार पक्का गरेको छ। यस्तै उपविजेता बनेको आर्मीले पनि आठ लाख नगद पक्का गरेको छ। अब प्रतियोगितामा तेस्रो हुनेले पाँच लाख तथा चौथो हुनेले तीन लाख प्राप्त गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया