राष्ट्र बैंकद्धारा ऋण पुर्नतालिकीकरण गर्न समय थप, ऋणीलाई थप राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण प्रभावित भएका ऋणीलाई ऋण पुर्नतालिकीकरण गर्न समय थप गरेको छ ।

राष्ट्र बैंकको यस्तो व्यवस्थाले पिडामा परेका आम ऋणीलाई राहत पुगेको छ । राष्ट्र बैंकले हालै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले विषेशष्तः पर्यटन क्षेत्रका उद्योग व्यवसायहरुका लागि राहत उपलब्ध गराएको छ । प्रयाप्त मात्रामा पर्यटन क्षेत्र अझै संचालन हुन नसकेकाले यस क्षेत्रले अझै लय लिन सकेको छैन । त्यसैले राष्ट्र बैंकले यस क्षेत्रको थप राहतका लागि २०७८ साल असार मसान्तसम्मका लागि लागि पुनर्तालिकीकरण गर्ने सुविधा उपलब्ध गराएको हो ।

पुनर्तालिकीकरण गर्दा ऋणीले कुल ब्याज बक्यौताको ५ प्रतिशत ब्याज भुक्तान गरेको हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि कुल ब्याज बक्यौताको १० प्रतिशत ब्याज भुक्तान गरेको हुनुपर्ने व्यवस्था थियो । कोरोनाका कारण अहिले पर्यटनमा मुख्य मानिने होटल व्यवसाय क्षेत्र पूर्ण रुपमा प्रभावित हुँदा संचालनमा रहेका अधिकांश होटलहरुको आम्दानी घटेको छ । होटल व्यवसायले आफ्ना कर्मचारी धान्न पनि धौ धौ परेको छ । राष्ट्र बैंकले लिएको नीतिले व्यवसायीक निरन्तरता दिन र कोभिडको असरबाट माथि निस्कन सहयोग पुग्ने व्यवसयीहरुको भनाई छ ।

राष्ट्र बैंकले यसपालीको मौद्रिक नीतिको समिक्षामा खासै ठुलो राहतको प्याकेज भने ल्याएन । यो मौद्रिक नीति आउँदानै धेरै क्षेत्रलाई सम्बोधन भएकाले अहिले केही क्षेत्रलाई मात्रै लक्षित गरिएको मौद्रिक नीतिको समिक्षा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका थिए ।

त्यसैगरी, राष्ट्र बैंकले कोभिड प्रभावित व्यवसायीको धितो आगामी असार मसान्तसम्म लिलामी तथा कालोसूचीमा राख्न नपाउने व्यवस्था समेत गरेको छ । यस व्यवस्थाले पनि ऋणीलाई थप राहत पुगेको छ । राष्ट्र बैंकले केही वर्षयता देखि नै बैंक तथा वित्तीय क्षेत्रले प्राथमिक प्राप्त क्षेत्रमा लगानी गर्न सीमा तोकेको छ । यस्तो सीमा बैंकहरुले पूरा गरे कि गरेनन् भन्ने समेत अध्ययन गर्ने राष्ट्र बैंकले जनाएको छ । साथै यस्तो ऋण दुरुपयोग भएको पाइएमा कारवाहीलाई थप प्रभावकारी बनाइने मौद्रिक नीतिको समिक्षामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?