शून्य अंक ल्याएको भन्दै विद्यार्थी कुट्ने शिक्षक पक्राउ

दाङ । दाङमा शून्य अंक ल्याएको भन्दै विद्यार्थीलाई यातना दिने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । अभिभावकको उजुरीपछि राजपुर गाउँपालिका–७ को सिक्टा माविका शिक्षक हेमराज विकलाई प्रहरीले पक्राउ गरेको हो ।

आन्तरिक परीक्षामा शून्य अंक ल्याएको भन्दै विकले कक्षा १० का विद्यार्थीलाई गम्भिर घाइते हुने गरी हिर्काएका थिए । विक गणित र विज्ञान विषयका शिक्षक हुन् । घाइते भएका विद्यार्थी मध्ये केहिले अहिलेसम्म उपचार गरिरहेका छन् ।

तर विकले भने विद्यार्थीले पढाइमा लापरबाही गरेकाले सुधार्न सामान्य दण्ड दिएर सचेत पार्न खोजेको दाबी गरेका छन् । उनलाई बालबालिकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?