बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

हेटौंडा । आज बस्ने भनिएको बागमती प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ। आज दिउँसो २ बजे बस्ने भनिएको सातौं अधिवेशन बैठक पुन अर्को सुचना नआएसम्मका लागि स्थगित गरिएको हो । यसअघि गत माघ १९ गते दिउँसो २ बजे तय भएको बैठक बस्ने नसकेपछि आजलाई बोलाइएको थियो ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रकृयामाथि आजको बैठकमा छलफल प्रारम्भ हुने तय थियो । तर बैठक बस्नु अगाबै बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

“मिति २०७७ फागुन ५ गते बुधबार दिनको २ बजे बस्ने गरि निर्धारण गरिएको प्रदेश सभाको बैठकमा सभामुखज्यूले विशेष कारणले गर्दा अर्को सूचना नभए सम्मको लागि स्थगित गर्नु भएको व्यहोरा जानकारीको लागि निर्देशानुसार अनुरोध गर्दछु,” सुचनामा भनिएको छ ।

यसअघि माघ १९ गतेका लागि तय भएको बैठक मुख्यमन्त्रीको दवावमा अघिल्लो राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए ।

पुस १० गते प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता गराएका थिए । आजको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव कार्यसूची रहेको थियो । साथै अन्य केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूची समेत थियो ।

प्रदेशसभामा सत्तारुढ नेकपामा ८० , नेपाली काँग्रेसका २२ , साझा विवेकशील दलका तीन, राप्रपा दुई, नेपाल मजदुर पार्टीका दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना सदस्य रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?