सुदूरका कोभिड अस्पताल खाली, सेतीमा दुई जना बिरामी मात्रै

टेक सिँह धामी/कैलाली । सुदूरपश्चिममा निर्माण गरिएका कोभिड अस्पताल खाली भएका छन् । कोरोना संक्रमितले भरिएका सुदूरपश्चिमका अस्पताल संक्रमण दर घटेसँगै खाली भएका हुन् ।

कैलालीको धनगढीस्थित सेती अस्पतालको कोरोना अस्थायी अस्पताल रित्तिएको छ । केही महिना अगाडिसम्म कोरोना संक्रमितले भरिएको उक्त कोभिड अस्पताल खाली भएको छ । सुदूरपश्चिममा संक्रमणदर घटेपछि अस्पताल खाली भएको हो । कोभिडले महामारीको रुप लिएको बेला सुूुरपश्चिम प्रदेश सरकारको लगानीमा ५० शैयाको अस्थायी अस्पताल निर्माण गरिएको थियो ।

पछिल्लो समय कोरोना संक्रमण र परीक्षण दर घटेसँगै अस्पताल खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । “केहि दिन अगाडि अस्पतालमा बिरामीको संख्या निल भएको थियो । अहिले दुई जना बिरामी उपचाररत छन्,” उनले भने ।
कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएपछि मानिसमा पहिले जस्तो कोरोनाको त्रास छैन । संक्रमण दर घट्दै जाँदा जनजीवन पनि सामान्य हुँदै गएको छ । मान्छेहरु निर्वाध रुपमा आ–आफ्नो कामकाजमा व्यस्त भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?